फिल्म ‘बलिदान’को शीर्ष गीत रिलिज

काठमाडौं, ३१ भदौ । यसपालिको दशैंको फूलपाती (१३ असोज)मा प्रदर्शन हुन लागेको फिल्म ‘बलिदान’को शीर्ष गीत (ओएसटी) सार्वजनिक गरिएको छ । लिरिकल शैलीमा तयार पारिएको उक्त गीतमा सुजन चापागाईँको स्वर र संगीत रहेको छ भने हर्क साउदले शब्द लेखेका हुन् । गीतको संगीत संयोजन कोविद बज्रले गरेका छन् भने विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन् ।

एनिमेटेड दृश्य समेत समावेश गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्मा प्रस्तुत छन् । ऋचाले समीरकी आमाको भूमिका निभाएकी छन् । भिडियोका केही दृश्यले समीरले माझी समुदायको पात्रमा अभिनय गरेको संकेत गर्छ । आमा र मातृभूमिप्रतिको प्रेम र समर्पणको भावनालाई गीतले मर्मस्पर्शी ढंगले अभिव्यक्त गरेको छ ।

रोमान्टिक फिल्म बनाउने निर्माताको रुपमा चिनिएका सन्तोष सेनले देशको घाउलाई देखाउन ‘बलिदान’ बनाएको बताएका छन् । उनी भन्छन्, ‘अन्यायले नागरिकलाई निरन्तर घेरिरहँदा लाग्यो, आमा र मातृभूमिको लागि एउटा युवा कति टाढासम्म जान सक्छ भन्ने कुरा कलाबाटै देखाउनुपर्छ । यही सोचबाट ‘बलिदान’ जन्मियो ।’ यो फिल्मलाई उनी आफैँले निर्देशन गरेका हुन् ।

आसुसेन फिल्म्सको ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् । फिल्ममा समीर र ऋचासहित सौगात मल्ल, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्