खेल मैदानमा भारत–पाकिस्तान तनावमा म्याच रेफ्री हटाउने पाकिस्तानको माग आइसिसीद्वारा खारेज

काठमाडौं, ३१ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एसिया कपका म्याच रेफ्री एन्डी पाइक्रफ्टलाई हटाउने पाकिस्तान क्रिकेट बोर्डको मागलाई अस्वीकार गरेको छ।

आइसिसीको कानूनी विभागले पठाएको भनिएको पत्रमा भारत–पाकिस्तान खेलको क्रममा भएको हात मिलाउने विवादमा म्याच रेफ्रीको कुनै भूमिका नभएको स्पष्ट पारिएको छ।

पिसिबीले आइतबार दुबईमा भएको भारत–पाकिस्तान खेलमा टसको समयमा पाकिस्तानी कप्तान सलमान अली आगालाई भारतीय कप्तान सूर्यकुमार यादवसँग हात नमिलाउन पाइक्रफ्टले भनेको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो।

तर, आइसिसीले यस विषयमा स्पष्टीकरण दिँदै एसिसीका अधिकारीहरूले नै पाइक्रफ्टलाई यसबारे जानकारी गराएको र उनले सलमान आगालाई सोही कुरा बताएको जनाएको छ।

आइसिसीको कानुन विभागको पत्रले पाकिस्तानको दाबीलाई खारेज गरकेो थियो। जसमा म्याच रेफ्री भारतीय टोलीको पक्षमा काम गरिरहेको थियो भन्ने कुरालाई खारेज गरिएको हो।

यो घटनाले बुधबार हुने पाकिस्तान–युएई खेलअघि प्रश्न खडा गरेको छ। पाइक्रफ्ट नै उक्त खेलका लागि तोकिएका रेफ्री हुन् र पिसिबीले जिम्बाब्वेका रेफ्रीलाई नहटाइएमा टोलीले खेल नखेल्ने बताएको थियो।

भारत र पाकिस्तानबीच एसिया कप टी–२० प्रतियोगिताको बहुप्रतिक्षित खेलमा भारत आइतबार राति ७ विकेटले विजयी भएको थियो।

तर पाकिस्तानी खेलाडी तयार हुँदा पनि भारतीय टोलीले हात नमिएपछि दुई छिमेकी देशबीचको तनाव मैदानमा पनि देखिएको थियो।

भारतीय टी–२० कप्तान सूर्यकुमार यादवले आफ्नो क्रिकेट बोर्ड बिसिसिआई र भारत सरकारसँगको सल्लाहमा खेलअघि नै पाकिस्तानसँग हात नमिलाउने निर्णय गरेको बताएका थिए।

भारतीय टोलीले हात नमिलाएपछि पाकिस्तानी टोली निराश देखिएको थियो।

पाकिस्तानका प्रशिक्षक माइक हेसनले खेलपछि हात मिलाउन तयार रहे पनि भारतीय खेलाडीले बेवास्ता गरेको बताएका थिए।

यसै कारण पाकिस्तानका कप्तान सलमान आगाले खेलपछिको टेलिभिजन अन्तर्वार्ता दिन अस्विकार गरेर भारतको कदमको विरोध गरेका थिए।

पाकिस्तानले यी घटनाहरूबारे म्याच रेफ्री एन्डी पाइक्रफ्ट समक्ष पनि आफ्नो असन्तुष्टि व्यक्त गरेको थियो।

खेल सकिएको केही घण्टापछि पाकिस्तानी क्रिकेट बोर्ड पिसिबीले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानका टिम म्यानेजरले पाइक्रफ्टविरुद्ध ‘औपचारिक विरोध’ दर्ता गरेको थियो। पिसिबीका अनुसार पाइक्रफ्टले टसका बेला दुवै कप्तानलाई एकअर्कासँग हात नमिलाउन अनुरोध गरेका थिए।

भारतको पहाल्गाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच यो पहिलो क्रिकेट खेल थियो।

हात नमिलाउनुलाई खेल भावनाविपरीतको कुरा हो भनेर प्रश्न गर्दा सूर्यकुमारले भनेका थिए, ‘जीवनमा केही कुरा खेल भावनाभन्दा माथि हुन्छन्। मैले पोस्ट म्याच प्रिजेन्टेसनमा पनि भनेको थिएँ, हामी पहाल्गाम आतंकवादी हमलाका सबै पीडितको साथमा छौं, उनीहरूका परिवारको साथमा छौं र हामी ऐक्यबद्धता व्यक्त गर्दछौं।’

प्रतिक्रिया दिनुहोस्