प्रधानमन्त्री ओली पाँच दिने भ्रमणका लागि चीन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गतेदेखि १० गतेसम्म पाँच दिने लामो भ्रमणका लागि चीन जाने भएका छन् ।  प्रधानमन्त्री ओली भारत भ्रमण गरेको दुई महिनापछि अर्को छिमेकी मुलुक चीन भ्रमणमा जान लागेका हुन् ।

भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् । सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलार्इ भने गोप्य राखेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका लागि मिति पनि चीनले नै प्रस्ताव गरेको बताइएको छ । नेपाली पक्षले बुधबार भ्रमण मितिमा सहमति जनाएपछि विस्तृत कार्यक्रम पनि चीनले बुधबारै पठाइसकेको छ।

यसअघि ओलीले सांघाई को–अपरेसन अर्घनाइजेसनको सम्मेलनको अवसरमा चीन जान चाहेका थिए । तर चीनले समय मिल्न नसक्ने बताउँदै त्यसको दुर्इ साता पछिका लागि भ्रमण तालिका मिलाएको हो । सांघाई को–अपरेशनको सम्मेलन जुन ९–१० मा चिङ्दाओमा हुँदैछ, प्रम ओली १९ जुनमा चीन भ्रमणमा जाने टुंगो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्