बजेटलाई ‘हावादारी’ भनेर टिप्पणी गर्ने आफै ‘हावादारी’ : प्रधामन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटलाई ‘हावादारी’ भनि टिप्पणी गरेकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले देउवाप्रति लक्षित गर्दै केही भन्ने ठाउँ नभएपछि बजेटलाई ‘हावादारी’ भनिएको दावी गरे । बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले बजेटलाई ‘हावादारी’ भनेर टिप्पणी गर्ने आफै ‘हावादारी’ भएको भन्दै देउवाप्रति व्यंग समेत गरे ।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि सुशासन र समृद्धिको अभियानमा सहभागी हुन आह्वान समेत गरे । उनले वैचारिक भिन्नता देखाउने तर भ्रष्टाचारको मामलामा उस्तै देखिने राजनीतिक विचारधाराको कुनै अर्थ नहुने भन्दै सचेत पनि गराए । प्रधानमन्त्री ओलीले शिक्षालाई विकास र उत्पादनसँग जोड्ने सरकारको योजना रहेको समेत बताए । उनले गुणस्तरीय शिक्षा दिने काममा जिम्मेवारी बोधका साथ अघि बढ्न शिक्षकहलाई पनि सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले एक वर्ष भित्र मुलुकबाट निरक्षरता उन्मुलन गर्ने दावी समेत गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्