नेकपाको स्थायी कमिटीले पूर्णता पायो
काठमाडौं । पार्टी एकीकरण भएको ११ दिनपछि नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाएको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट १९ जनाको नाम प्राप्त भएपछि ४५ सदस्यीय स्थायी कमिटी गठन भएको छ ।
स्थायी कमिटीमा तत्कालिन एमालेबाट २६ र तत्कालिन माओवादीबाट १९ जना नेतालाई समेटिएको छ । तत्कालिन नेकपा एमालेको स्थायी कमिटी यथावत राख्दै रघुजी पन्त, विष्णु रिमाल, बेदुराम भुसाल र रघुवीर महासेठ लाई थप गरिएको छ । त्यस्तै तत्कालिन माओवादी केन्द्रले नेकपा संयुक्तबाट एकीकरणमा आएका गणेश साह, चुनावअघि नयाँ शक्ति छाडेर फर्किएका देवेन्द्र पौडेल र एकीकरण प्रक्रियामा पछि सामेल भएका मणि थापालाई समेत समावेश गरेको छ ।
नेकपाले ६ जना नेतालाई स्थायी आमन्त्रित सदस्यका रुपमा राखेको छ । तत्कालिन नेकपा एमालेका अमृतकुमार बोहोरा, केशव बडाल, सोमनाथ प्यासी र डा.पुष्प कडेल स्थायी आमन्त्रित सदस्य रहने भएका छन् । त्यस्तै तत्कालिन नेकपा माओवादी केन्द्रबाट अमिक शेरचन र पेशल खतिवडा स्थायी आमन्त्रित सदस्य बन्ने भएका छन् ।
नेकपाको पार्टीको विधान अनुसार ६ जना नेतालाई पदाधिकारीका रुपमा परिभाषित गरिएको छ । जसमा अध्यक्षद्धय केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल रहेका छन् ।
यस्तै यता, नेपाल कम्युनिस्ट पार्टीको विधान र केन्द्रीय कमिटीको संरचनाप्रति आपत्ति जनाउँदै दुईजना स्थायी आमन्त्रित सदस्यले लिखित असहमति जनाएका छन् । पार्टीका पुराना नेताद्वय अमृतकुमार बोहरा र अमिक शेरचनले आफूलाई दिएको स्थायी आमन्त्रित सदस्य पद समेत अस्वीकार गरेका छन् ।
तत्कालिन एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्षमा निर्वाचित भएका बोहराले आफूलाई केन्द्रीय कमिटीबाट हटाइनुको कारण बारेमा मागे गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखी ‘तपाईसँगै महाधिवेशनको हलबाट निर्वाचित म आज किन केन्द्रीय कमिटीबाट हटाइएँ ?’ भनी प्रश्न सोधेका छन् । बोहरा महाधिवेशनमा केशव बडाललाई अनुशासन आयोगको अध्यक्षमा पराजित गरि विजयी भएका थिए । तत्कालिन नेकपा माले र पछिल्लो एमालेका संस्थापक नेता बोहरा माधव नेपाल महासचिव हुँदासम्म दोस्रो वरियताका नेता थिए । बोहराले आफू महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, अनुशासन आयोगको अध्यक्ष र पदेन स्थायी कमिटी सदस्य रहेकाले आमन्त्रित सदस्य नबन्ने प्रष्ट पारेका छन् । उनले पार्टीको विधानसमेत बिगारिएको भन्दै आपत्ति समेत जनाएका छन् ।
विधानमा अनुशासन आयोगलाई केन्द्रीय कमिटीले कारवाही गर्न सक्ने जस्ता आपत्तिजनक बुँदाहरु राखिएको र धेरै ठाउँमा मनपरी गरिएकाले आफूले असहमति जनाएको बोहराले बताए । केही नेतालाई बलियो बनाउने गरी विधान लेखिएको उनको आरोप छ ।
उता तत्कालिन माओवादी केन्द्रका अनुशासन आयोग अध्यक्ष अमिक शेरचनले पनि स्थायी आमन्त्रित सदस्यमा अहसमति जनाएका छ । उनले पनि आफू हेटौंडा महाधिवेशनबाट आयोगको अध्यक्षमा निर्वाचित भएकाले निर्वाचित केन्द्रीय सदस्यको हैसियतमा रहनुपर्ने बताएका छन् । असहमतिका कारण नेकपाले निर्वाचन आयोगमा बुझाएको माइन्युटमा अमृत बोहरा,अष्टलक्ष्मी शाक्य, अमिक शेरचनले हस्ताक्षर गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्