‘कोशेढुङ्गा’को तीज गीत चल्यो
काठमाडौं, ११ भदौ । फिल्मको व्यावसायिक भविष्य त्यसका प्रचार सामग्रीले युट्युबमा प्राप्त गर्ने भ्यूजले निर्धारण गर्दैन । दर्शकले फिल्म हेरिसकेपछि दिने प्रतिक्रियाको आधारमा मात्र बक्स अफिसमा फिल्मको भाग्य लेखिने हो । यसैले युट्युब भ्यूज महत्त्वपूर्ण होइन । तथापि, फिल्मप्रति दर्शकको चासो कस्तो छ भनेर केही हदसम्म बुझ्न सकिने एउटा आधार चाहिँ युट्युबको भ्यूज पनि हो ।
यही भदौ १२ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कोशेढुङ्गा’को कुरा गर्ने हो भने यसको एउटा तीज गीत यतिबेला चर्चामा छ । त्यो हो, ‘नत्र भने जिन्दगी व्यर्थ छ’ । युट्युबमा मात्र एक महिनामा ६४ लाख बढीले हेरिसकेको यो गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेलेको छ । तर, यो गीत राम्रो चलेको भए पनि फिल्मका अरू दुईवटा गीतको भ्यूजले निर्माता नै तर्सिने अवस्था छ ।
करिब दुई साताअघि निर्माण पक्षले दोस्रो गीतको रुपमा ‘भँगेरा भँगेरी’ सार्वजनिक गरेको थियो । फिल्मकी मुख्य अभिनेत्री सुरक्षा पन्त र नवअभिनेता मन्जिल कुमारलाई चित्रित गरिएको यो गीतको भ्यूज १ लाख ८१ हजारमा अड्किएर बसेको छ । यसको मतलब दर्शकलाई आकर्षित गर्न गीत पूर्ण रूपमा चुकेको छ । फिल्मी भाषामा भन्दा उक्त गीत युट्युबमा ‘सुपर फ्लप’ भएको छ ।
‘भँगेरा भँगेरी’ मात्र होइन, कालजयी गीत ‘हे बरै’लाई पुनः स्वरांकन गर्दै फिल्ममा राखिएको गीतमा पनि भ्यूजको खडेरी देखिन्छ । २ दिनअघि सार्वजनिक भएको उक्त गीतलाई यो समाचार तयार पार्दासम्म ५५ हजार भ्यूज छ । एक त यो आफैंमा सर्वाधिक चर्चित गीत हो । त्यसमाथि गीतको भिडियोमा आर्यन सिग्देल, सुरक्षा पन्त जस्ता कलाकार हुँदा पनि दर्शकले चासो दिएका छैनन् ।
दुई साताअघि ‘कोशेढुङ्गाभित्रको कथा’ भन्दै सार्वजनिक गरिएको कविता वाचनको भिडियोमा पनि भ्यूजको हाहाकार छ । सुरक्षा पन्तले वाचन गरेको कविताको भिडियोमा ३० हजार भ्यूज छ । फिल्मको ट्रेलरलाई पनि युट्युबमा खासै राम्रो भ्यूज प्राप्त छैन । ६ दिनमा ट्रेलरलाई ५ लाख ८६ हजारले हेरेका छन् । फिल्ममा नाम कहलिएका कलाकारहरूको ताँती हेर्दा उक्त भ्यूज सामान्य हो ।
‘कोशेढुङ्गा’लाई तीज गीतबाहेक अरू सामग्रीले प्रचारमा खासै साथ दिएको देखिँदैन । धन्न एउटा गीत चलिदिएर निर्माण टिमले राहतको सास फेर्न पाएको छ । यो फिल्मलाई ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले बनाएका हुन् । यसैले फिल्मको प्रचारमा कलाकारको भन्दा उनकै नाम बढी भजाइएको देखिन्छ । अब उनको नामले फिल्म चाहिँ कति बिक्छ, त्यो हेर्न बाँकी छ ।















प्रतिक्रिया दिनुहोस्