हलमा नेपाली फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ बीच त्रिपक्षीय भिडन्त

काठमाडौं, ६ भदौ । असार र साउनमा फिल्म रिलिजको चाप निकै न्यून रह्यो । यो दुई महिनामा जम्मा चार फिल्म रिलिज भए । भदौमा भने फिल्म रिलिजको चाप ठूलो छ । यो महिना आठवटा फिल्म आउँदैछन् । त्यसमध्येका तीन फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । फरक विधा र स्वादका यी तीन फिल्ममा स्थापित कलाकारहरूको अभिनय छ ।

तीन फिल्मध्ये ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’लाई हलहरूले बढी विश्वास गरेको देखिन्छ । यी दुई फिल्मलाई प्राप्त शो यसको प्रमाण हो । ‘माग्ने राजा’लाई देशव्यापी १४५ र ‘जनै हराएको मान्छे’लाई ११५ हाराहारी शो उपलब्ध हुँदा ‘ताराहरू’ ३० शोमा सीमित भएको छ । तर, शो संख्याले फिल्मको व्यापारिक भविष्य भने निर्धारण गर्दैन । त्यसका लागि ‘वर्ड अफ माउथ’ नै बलियो हुनुपर्छ ।

‘माग्ने राजा’ कलाकार केदार घिमिरे ९माग्ने बुढा०ले मुख्य भूमिकामा अभिनय गरेको पहिलो फिल्म हो । ‘सुतेर उठेको पैसामा’ गीतका कारण चर्चामा रहेको फिल्ममा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई, सारदा गिरी लगायतको अभिनय छ । ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मका निर्माता मुनाल घिमिरे हुन् । फिल्मले भूइँमान्छेको धनी हुने महत्त्वाकांक्षाको कथा भन्छ ।

बाबु(छोरा र दिदी(भाइबीचको सम्बन्धको कथामा आधारित ‘जनै हराएको मान्छे’मा भने विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, रेअर राई, भावना खपाङ्गी मगर, सुमन थापा लगायतको अभिनय रहेको छ । हिमाल न्यौपानेको डेब्यु निर्देशनमा बनेको यो फिल्मलाई कमल न्यौपाने र विमल न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

त्यस्तै, ‘ताराहरू’लाई कलाकार आशान्त शर्माले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो । यसमा आशान्त स्वयंको मुख्य भूमिका छ भने मेनुका प्रधान, कुन्दुन शाक्य, मिरा खड्का लगायतको पनि अभिनय छ । एक किशोर जीवनबाट निराश भएर आत्महत्याको बाटोमा लाग्न खोज्दा उसका साथीहरूले जीवन जिउन प्रेरित गरेको कथामा फिल्म आधारित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्