भदौ ६ गतेबाट नेपालसहित अष्ट्रेलियाका २५ बढी हलमा एकैपटक लाग्दै फिल्म ‘माग्ने राजा’

काठमाडौं, ४ भदौ । कलाकार केदार घिमिरे (माग्ने बुढा)ले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘माग्ने राजा’ यही भदौ ६ गतेबाट नेपालसँगै अष्ट्रेलियामा पनि एकैपटक प्रदर्शन हुने भएको छ । अष्ट्रेलियाका २५ बढी हलमा एक सयभन्दा धेरै शोसहित फिल्मको प्रदर्शन तय भएको वितरक कम्पनी थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले जनाएका छन् ।

अष्ट्रेलियामा बक्स अफिस सिस्टमबाटै रिलिज हुन लागेको फिल्मको अग्रिम टिकट बुकिङ पनि खुला भइसकेको थ्रिकेजीका गोविन्द भण्डारीले जानकारी दिए । फिल्मको बुकिङ सुरुवाती चरणमा रहेको र प्राप्त शोको आधारमा हेर्दा फिल्मले राम्रो व्यापार गर्ने देखिएको उनले बताए । उनका अनुसार अष्ट्रेलियामा लामो समयपछि नेपाली फिल्म हलमै रिलिज हुन लागेको हो ।

अष्ट्रेलियासँगै नेपालका हलमा पनि फिल्मको टिकट बुकिङ खुला भइसकेको छ । मुलुकका ठूला मल्टीप्लेक्सहरुले फिल्मलाई उत्साहजनक शो दिएका छन् । अझै धेरै हलमा बुकिङ खुल्न बाँकी रहेकाले फिल्मको शो संख्या यकिन भइसकेको छैन । ट्रेलर र ‘सुतेर उठेको पैसामा’ गीतले दर्शकमाझ राम्रो हाइप बनाएकाले फिल्मले सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

‘माग्ने राजा’ प्रदर्शन हुन अब एक दिन बाँकी रहँदा कलाकार घिमिरे कलेजका विद्यार्थी फकाउने अभियानमा जुटेका छन् । उनले मंगलबार काठमाडौं चुच्चेपाटीस्थित मनास्लु कलेज पुगेर त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई फिल्म हेर्न निम्तो दिए । उनले फिल्मको चर्चित गीत ‘म त सुतेर उठेको पैसामा’ गीतमा विद्यार्थीहरुसँग नृत्य पनि गरेका थिए ।

ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्ममा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई (तक्मे बुढा), शारदा गिरी, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । यसमा आर्यन सिग्देलको पनि विशेष भूमिका छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता मधुसुदन शर्मा हुन् ।

प्रतिक्रिया दिनुहोस्