‘जनै हराएको मान्छे’को ट्रेलर सार्वजनिक, सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत

काठमाडौं, २६ साउन । कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारंगी’का अभिनेता विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको साढे तीन मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथावस्तु, केन्द्रीय द्वन्द्व र चरित्र चित्रणबारे प्रकाश पारेको छ ।

कोरिया जाने सपना बोकेर गाउँबाट सहर आएको एक पात्रले भोग्नुपर्ने कठिनाइ र संघर्षको वरिपरि घुमेको ट्रेलरमा बुबा(छोरा र दिदी–भाईबीचको सम्बन्ध र भावनात्मक उतारचढावलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको छ । जनैको महत्त्वलाई पनि बुझाउन खोजिएको ट्रेलरमा संवादहरु अर्थपूर्ण छन् । सम्बन्धमा आउने उतारचढाव नै फिल्मको केन्द्रीय द्वन्द्व रहेको ट्रेलरबाट प्रष्ट हुन्छ ।

हिमाल न्यौपानेले निर्देशनमा बनेको फिल्ममा विजयसहित केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतको अभिनय रहेको छ । भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो फिल्मलाई पेपरक्लिपका कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् ।

मनिष राउत एसोसिएट निर्देशक रहेको फिल्मको कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन् । फिल्ममा नवीन गुरुङ र कृष्ण परियारको छायांकन, भरत रेग्मीको सम्पादन तथा चुल्ठे काजीको द्वन्द्व निर्देशन रहेको छ । यो फिल्म तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्