कानुनविद खनालको स्मृतिमा ग्रन्थ प्रकाशित
काठमाडौँ। तत्कालीन राजप्रसाद सेवाका प्रमुखसचिव रेवतीरमण खनालको सम्झनामा ग्रन्थ प्रकाशन गरिएको छ।
श्रीमती सरस्वती खनालद्वारा प्रकाशित ग्रन्थमा उहाँको जीवनी, शिक्षा, राजप्रासाद सेवा, कानुन: अध्ययन र प्राध्यापन, लेख रचना, अध्यात्म लगायत दश अध्याय छन । विशिष्ट विद्वानले लेखेका रचना समेत ग्रन्थमा समावेश छ।
राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व मुख्य न्यायाधीश टोपबहादुर सिंहले रेवतीरमण खनाल स्मृति ग्रन्थ लोकार्पण गर्दै तनहुँको सामान्य परिवारमा जन्मेका खनाल मेहनती र इमान्दार व्यक्तित्व भएकाले राजदरबारको माथिल्लो ओहदामा पुगेर विसं २०४७ को संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो। कानुनको गहन अध्ययन गरेका सरल र सादगी जीवन शैलीका खनाल आफ्नो समकालीन मित्र रहेको बताउँदै पूर्व न्यायाधीश सिंहले नेपाली कानुन ऐतिहासिक रूपरेखा नामक ग्रन्थका लागि खनालले विसं २०५९मा मदन पुरस्कार प्राप्त गरेको बताउनुभयो।
समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले खनालले लेखका पुस्तक पढेर आफूले लोकसेवा उतिर्ण गरेकाे स्मरण गर्दै राष्ट्रियता र सार्वभौमिकताका विषयमा उहाँ संवेदनशील रहेको उल्लेख गर्नुभयो।
नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्रले तत्कालीन राष्ट्रप्रमुख वीरेन्द्रसँग निकट रहेर कानुनी राज्यको बलियो आधार बनाउन र विधिको शासन स्थापित गराउन खनालले गरेको सहयोगको सराहना गर्नुभयो।
उच्च अदालतका न्यायाधीश शेषराज सिवाकोटी, वरिष्ठ समालोचक वासुदेव त्रिपाठी, सर्वोच्च अदालतको पूर्व न्यायाधीश कमल नारायण दास, कानुनविद् घनश्याम कँडेल, वरिष्ठ पत्रकार सोमनाथ घिमिरेलगायतले उहाँको कृतित्वको चर्चा गर्दै कानुनलाई साहित्यमा विवेचना गर्नसक्ने बहुआयामिक प्रतिभाशाली व्यक्तित्व भएको स्मरण गर्नुभयो।















प्रतिक्रिया दिनुहोस्