जेठ १५ देश विदेशमा रहेका सबै नेपालीको विजयको दिन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र देश विदेशमा रहेका सबै नेपाली नागरिकको विजयको दिन भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा मंगलवार काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रमलाई संबोधन गर्दै उनले शासनकालमा कुनै वंश विशेषको मात्र अधिकार रहने व्यवस्था हटाएर नागरिकका प्रतिनिधिले शासन गर्ने व्यवस्थाको सुरु भएर आम नागरिकको जित भएको बताए ।

शासक संविधानभन्दा माथि हुने परम्परा अन्त्य गर्दै जनता सार्वभौम हुन र सार्वभौमसत्ता जनतामा मात्र निहीत छ भन्ने प्रत्याभूति जेठ १५ गतेको दिनले गराएको प्रधानमन्त्री ओलीको भनाई छ । लोकतान्त्रिक गणतन्त्र उच्च विचार मूल्य मान्यता दर्शनबाट प्रेरित हुने भन्दै उनले यो कसैले उपहार नदिएको र आफैँ लडेर स्थापित गरेको विधि र प्रणाली भएको पनि बताए ।

सरकार विकास, सम्बृद्धि र स्थिरताको मूल मार्गमा अघि बढीरहेकाले सुशासन र विकासका लागि असान्दर्भिक हिजोका थिति कानुन र संरचना हटाउँदै, संशोधन गर्दै र रुपान्तरित गर्दै सरकार अघि बढीरहेको उनले दावी गरे । प्रधानमन्त्री ओलीले अशान्ति र अस्थिरताका क्रियाकलाप उचित नहुने भन्दै सबैलाई राष्ट्रिय मूल धारमा आउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्