‘माग्ने राजा’को गीत सार्वजनिक, पैसामा सुत्ने र हेलिकोप्टरमा उड्ने धनी पात्रले देखाएको पैसाको तुजुकलाई प्रस्तुत
काठमाडौं, ६ साउन। जिन्दगी चल्दैछ ऐसमा
म त सुतेर उठेको पैसामा
छैन मनमा चोट
सुकिलो छ कोट
मेरो घरको करेसामा पैसाको बोट
राजाको गद्दी नि तान्दिन्छु
म त पैसाको बिटोले हान्दिन्छु
माथिको हरफ फिल्म ‘माग्ने राजा’मा समावेश गीतको हो । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतले धनी पात्रले देखाएको पैसाको तुजुकलाई प्रस्तुत गर्छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’को धनाड्य अवतार देख्न सकिन्छ । भिडियोमा उनी पैसामा सुतेको, हेलिकोप्टरमा उडेको जस्ता दृश्यहरु समावेश छन् ।
बाबुल गिरीको स्वर रहेको गीतमा उनी स्वयंको संगीत, शब्द रचना तथा एरेञ्ज छ । गीतको अन्तिममा चाइल्ड भर्सन पनि सुन्न सकिन्छ । जसमा फिल्मका कलाकार समेत रहेका रोनिश खड्काले स्वर दिएका छन् । चाइल्ड भर्सनमार्फत बालबालिकाका लागि पैसाभन्दा पढाइ ठूलो हो भन्ने सन्देश दिन खोजिएको छ । भिडियोका कोरियोग्राफर गम्भीर विष्ट हुन् ।
ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा केदारसहित वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय रहेको छ भने अभिनेता आर्यन सिग्देल विशेष भूमिकामा छन् । मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता मधुसुदन शर्मा हुन् ।
तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, मित्र डि। गुरुङको सम्पादन, सामीप्य राज तिमल्सेनाको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, त्सूजील कर्माचार्यको ब्याकग्राउन्ड म्यूजिक तथा दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ । पैसाको बलमा आफैंलाई राजा ठान्ने पात्रको कथामा फिल्म आधारित छ ।
प्रतिक्रिया दिनुहोस्