बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना थुनामुक्त

काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसर पारेर तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीलाई थुनामुक्त गरेको छ ।
११ औँ गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेलसहितलाई आममाफी दिनुभएको हो ।

यससँगै ढु‌ंगेल डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।

ढुंगेल ओखलढुँगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले दोषी ठहर गरी जन्मकैद भोगिरहेका ब्यक्ति हुन् । सोमबार राती बसेको मन्त्रीपरिषद बैठकले ढुंगेल सहित आममाफी पाउनेहरुको नाम अनुमोदन गरि राष्ट्रपतिसमक्ष अनुमोदनका लागि सिफारिस गरेको थियो ।
ढुंगेललाई थुनामुक्त गर्न नहुने भन्दै परेको रिटमा सर्वोच्च अदालतले यसबारेको सक्कल फाइल नै मगाएकै दिन सरकारले ढुँगेललाई माफी दिने निर्णय गरेको हो ।

व्यक्ति हत्याको अभियोग अदालतले पुष्टि गरेपछि ढुंगेलले आफूविरुद्ध फैसला गर्ने न्यायाधीशलाई भौतिक कारवाही गर्ने अभिव्यक्ति दिएका थिए ।
ललितपुरको सातदोबाटोमा लुकेर बसेका ढुंगेललाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको टोलीले गएको कात्तिक १४ गते फक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्