‘माग्ने राजा’को टिजरलाई दर्शकीय प्रतिक्रिया

काठमाडौं, २२ असार । ‘माग्ने बुढा’को रुपमा परिचित कलाकार केदार घिमिरेले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट प्रदर्शन हुँदैछ । यसै साता सार्वजनिक भएको टिजर हेर्दा फिल्मको कथा उनीमै केन्द्रित रहेको देखिन्छ । उनी अकूत पैसा भएको व्यक्तिको रुपमा देखिएका छन् । टिजरमा उनले बोलेका संवादहरू अहिले टिकटकमा भाइरल भइरहेको छ ।

युट्युब रिलिजको चार दिनमा टिजरलाई १० लाख हाराहारी भ्यूज मिलेको छ भने २ हजार बढी प्रतिक्रिया प्राप्त छ । त्यसमा ८० प्रतिशत प्रतिक्रिया सकारात्मक देखिन्छ । प्रायःले केदारको संवाद बोल्ने शैली मन पराएका छन् । कतिपयले टिजरको आधारमा फिल्म बक्स अफिसमा सफल हुने दाबी समेत गरेका छन् । यसरी हेर्दा फिल्मप्रति हुटहुटी जगाउन टिजर सफल भएको देखिन्छ ।

टिजरलाई प्राप्त प्रतिक्रियाले कलाकार घिमिरे उत्साहित देखिएका छन् । भन्छन्, ‘टिजरमा आएको प्रतिक्रियाले म खुसी छु । मलाई नयाँ स्वरुपमा हेर्न खोज्नु भएको प्रतिक्रियालाई पनि सकारात्मक रुपमा लिएको छु । तर, ‘माग्ने राजा’को चरित्र माग्नेकै निरन्तरता स्वरुप निर्माण भएकाले यसमा पुरानो माग्नेका लवज र थेगोहरु प्रयोगमा आएका छन् । तर, फिल्ममा नयाँ माग्ने पनि देख्न पाइन्छ ।’

त्यस्तै, निर्देशक ऋषि लामिछानेले टिजरलाई मिलेको भ्यूज र प्रतिक्रिया फिल्मले कमाएको विश्वास रहेको बताएका छन् । टिजरले दर्शकमा फिल्मप्रति कौतुहलता सिर्जना गर्न सकेको आभाष भएको उनको भनाइ छ । फिल्ममा केदार घिमिरेलाई मुख्य भूमिकामा प्रस्तुत गरिरहँदा दर्शकबाट स्वीकारोक्तिलाई लिएर दुविधा भएपनि टिजरमा आएको प्रतिक्रियाले आफू ढुक्क भएको उनले बताए ।

उनले फिल्मको कथा माग्ने पात्रको वरिपरि घुम्ने भएकाले प्रचार सामाग्रीमा उनकै चरित्रले ठाउँ पाउने पनि स्पष्ट पारे । ‘यो कथालाई माग्नेकै ‘स्पिन–अफ’ चरित्र भने पनि हुन्छ । हामीले घोषणादेखि नै यही कुरा भन्दै आएका छौँ । हामीले माग्ने पात्रलाई एउटा हास्यरसयुक्त कथासहित प्रस्तुत गर्ने प्रयास गरेका हौँ । यही अपेक्षाअनुसार फिल्मलाई हेर्नुभयो भने निराश हुनुपर्दैन,’ ऋषिले भने ।

फिल्ममा केदारसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पवित्रा साकी (मिस पवी) राधिका कँडेल लगायतको अभिनय रहेको छ । आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सिनाको स्क्रिप्ट लेखन, मित्र डि गुरुङको सम्पादन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्