सरकारको १०० दिनको कार्य: २० बैठक, २४५ वटा निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको १०० दिनको अवधिमा २० वटा बैंठक बसी २४५ वटा निर्णय भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सार्वजनिक गरेको १०० दिनको कार्यसमिक्षामा गत फागुन ३ गते बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले देशमा प्राविधिक दक्ष जनशक्तिको विकास, उद्योग धन्दाको विस्तार र खेलकूद क्षेत्रको विकासका लागि निर्णय भएको उल्लेख गरिएको छ ।

जसअनुसार प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योगग्राम स्थापना गर्ने, प्रत्येक सदरमूकाममा आधुनिक र सुविधासम्पन्न खेलग्रामसहित रंगशाला निर्माण गर्ने र प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यवसायिक महाविद्यालय स्थापना गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

यस्तै मन्त्रिपरिषद्को गत फागुन ८ गते बसेको बैठकले राष्ट्रियसभामा युवराज खतिवडा, रामनारायण विडारी र विमला पौड्याललाई नियुक्ति गर्ने निर्णय गरेको थियो भने गत बैशाख ११ गते राष्ट्रिय योजना आयोगमा पुष्पराज कँडेलसहित ५ जना सदस्य नियुक्ति गरिएको थियो ।

यसैगरी नेपाल प्रहरी र सहस्त्र प्रहरीको आईजीपी नियुक्ति गरिएको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्