पोर्चुगल र लिभरपुलका स्टार फुटबलर डियोगो जोटा र आन्द्रे सिल्भाको निधनले विश्व फुटबल शोकमा

काठमाडौ, २० असार । पोर्चुगल र लिभरपुलका स्टार फुटबलर २८ वर्षीय डियोगो जोटा र उनका भाइ २६ वर्षीय आन्द्रे सिल्भाको कार दुर्घटनामा भएको निधनसँगै विश्व फुटबल शोकमा डुबेको छ। विश्वभरका फुटबल लिजेन्डहरुले उनको निधनमा शोक प्रकट गरीरहेका छन्। साथै इंग्लिस क्लबहरुले पनि जोटाको निधनमा आफ्ना श्रदाञ्जलीका शब्दहरु खर्चिएका छन्।

डियोगोले ३६ दिन अघि मात्र लिभरपुलका लागि प्रिमियर लिगको उपाधि जितेका थिए। त्यसलगतै अर्थात २३ दिन अघि उनले आफ्नो देश पोर्चुगलका लागि नेशनल लिगको उपाधि उचालेका थिए भने गत साता मात्र उनी विवाह बन्धनमा बाँधिएका थिए।

यो शोकाकुल क्षणमा हुन लागेको पोर्चुगल र स्पेनबिचको महिला युरो २०२५ को खेलमा युरोपेली फुटबल महासंघ ९युइएफए० ले खेलअघि एक मिनेट मौनधारण गर्ने जनाएको छ। साथै उनको निधनले सिंगो खेल क्षेत्र स्तब्ध बनेको भन्दै उनको परिवारसँग संधै सँगै रहने जनाएको छ।

पोर्चुगलका प्रधानमन्त्री लुइश मोंटेनेग्रोले डियोगो जोटा र उनका भाइको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यो विश्व फुटबलकै लागि दुःखद दिन भएको बताए। उनले भने, ‘डियोगो जोटा जसले पोर्चुगलको नाम उच्च बनाएका थिए र र उनीसँगै भाइको निधनको खबरले साँचिकै अप्रत्यासित र मर्माहत बनाएको छ।’ उनले सामाजिक सञ्जालमार्फत दुवै दाजुभाइको परिवारप्रति ‘गहिरो समवेदना’ प्रकट गरे। उनले लेखे ‘यो फुटबलको मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद जगतकै लागि दुःखद दिन हो।’

त्यस्तै सहकर्मी तथा स्टार फुटबल क्रिश्टियानो रोनाल्डोले गहिरो शोक ब्यक्त गर्दै विश्वास गर्न गाह्रो भइरहेको बताएका छन्। उनले लेखेका छन्, ‘केही समयअघि मात्र हामी राष्ट्रिय टिममा सँगै थियौं। अनि अझै भर्खर तिमी विवाह बन्धनमा बाँधिएको थियौ। यो विश्वास गर्नै गाह्रो भइरहेको छ।’ उनले परिवारलाई विश्वकै सबैभन्दा धेरै शक्ति अहिले आवश्यक रहेको बताए। उनले लेखे, ‘तिम्रो परिवार, श्रीमती र बच्चाहरूलाई मेरो समवेदना। म उनीहरूलाई संसारकै सबैभन्दा ठूलो शक्ति र हिम्मतको कामना गर्छु। मलाई थाहा छ, तिमी सधैं उनीहरूका साथमा हुने छौ।’ साथै उनले अन्तमा ‘रेस्ट इन पिस, डियगो र आन्द्रे। हामी सबै तिमीलाई धेरै सम्झनेछौं’, लेखेका छन्।

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले जोटाको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। एक मिडिया ब्रिफिङका क्रममा जोटाबारे प्रश्न उठेपछि उनले ह्रदयविदारक खवरले स्तब्ध भएको बताए। उनले भने, ‘जोटाको बारेमा आएका खवर वास्तवमै हृदयविदारक छन् । मलाई लाग्छ, म सबैको तर्फबाट बोल्दैछु, हाम्रो पहिलो सोच उनका परिवार र नजिकका मित्रहरू र लाखौँ लिभरपुल समर्थकहरू मात्र होइन, फुटबलका अन्य समर्थक र फुटबल नहेर्ने मानिसहरू समेत यो खबरबाट स्तब्ध हुनेछन्।’ उनले भने, ‘यो निकै पीडादायी खबर हो, र हामी सबैले सम्झनु जरुरी छ कि यो समय उनका परिवार र साथीहरूका लागि कति कठिन हुने छ।’

म्यानचेस्टर सिटीले डियोगो जोटाको हृदयविदारक समाचार सुनेर म्यानचेस्टर सिटी परिवार स्तब्ध भएको जनाएको छ। साथै उसले कठिन घडीमा उनको परिवार, साथीभाइ र लिभरपुल फुटबल क्लबका सम्पूर्ण सदस्यप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ।

त्यस्तै म्यानचेस्टर युनाइटेडले हृदयविदारक घटनापछि डियोगो जोटा र उनका भाई आन्द्रेको परिवार, आफन्त तथा लिभरपुल एफसीसँग जोडिएका सबैप्रति गहिरो समवेदना रहेको उल्लेख गरेको छ।

इंग्लिस फुटबल संघ र प्रिमियर लिगले पनि शोक सन्देश जारी गरेका छन्। डियोगो जोटा र उनका भाइ आन्द्रेको निधनको खबरले आफूहरू ‘पूर्ण रूपमा मर्माहत’ भएको उल्लेख गरेका छन्। दुबै संस्थाले सामाजिक सञ्जालमार्फत डियोगोको परिवार, साथीहरू र टोलीका सदस्यहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै प्रिमियर लिगले फुटबलले एक सच्चा च्याम्पियन गुमाएको उल्लेख गरेको छ।

२८ वर्षीय जोटा र उनका भाइ २६ वर्षीय आन्द्रे सिल्भा उनीपनि पेशागत फुटबल खेलाडी थिए, र पोर्चुगलको दोस्रो डिभिजन क्लब पेनेफिएलका लागि खेल्ने गर्थे। दुबैको कार दुर्घटनामा ज्यान गएको हो। जोटाले गत साता मात्र आफ्नी प्रेमीका रुटे कार्डोसोसँग विवाह गरेका थिए। उनीहरूका तीन सन्तान छन्।

उनले जुन २२ मा भएको विवाह समारोहका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरेका थिए। जोटाले गत सिजन लिभरपुललाई प्रिमियर लिग उपाधि जित्न सहयोग गरेका थिए, र गत महिना अर्थात जुनमा भएको नेशन्स लिगको उपाधि जिताउन टिमका लागि महत्त्वपूर्ण भूमिका निभाएका थिए।

उक्त दुर्घटना स्थानीय समयअनुसार राति करिब १२ः३० मा भएको जनाइएको छ। जसमा उनीहरू सवार लाम्बोर्गिनी कार एक अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा टायर पम्चर भएर सडकबाट उछिटिएको थियो। त्यसपछि कारमा आगलागी भएको र दुवैजनाको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्