कांग्रेस एमाले गठबन्धन सरकार एक वर्ष पुग्न लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरू

काठमाडौं, १८ असार । कांग्रेस र एमाले गठबन्धनको एक वर्ष पुग्न लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट फर्किएपछि यसले पूर्णता पाउने स्रोतले बतायो ।

स्रोतका अनुसार केही मन्त्रीलाई निरन्तरता दिएर नयाँ अनुहार ल्याउने तयारी भइरहेको छ । प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर दुवै दलले मन्त्री हेरफेर गर्ने छन् ।

कार्यक्षमता कमजोर देखिएका र नतिजा दिन नसकेका ‘रेड जोन’ मा रहेको बताइन्छ । गठबन्धनको समझदारी अनुसार पनि पालो पुर्‍याउने दबाबसमेत रहेकाले एक वर्षे रोटेशनबाट मन्त्रीहरू हेरफेर हुनेछन् ।

स्रोतले भन्यो, ‘एकाधबाहेक सबै फेर्ने गरी प्रारम्भिक छलफल अघि बढेको छ, प्रधानमन्त्री स्पेनबाट फर्केपछि देउवासँग छलफल गरेपछि टुंगिन्छ । कांग्रेसबाट फिर्ता बोलाउने र नयाँ मन्त्रीको नाम देउवाले दिएपछि प्रक्रिया अघि बढ्छ ।’

कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्री र पार्टी सभापतिबीच छलफलपश्चात टुंगिने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘यो विषयमा अब प्रधानमन्त्री र सभापतिजीबीच छलफल हुन्छ । हाम्रो बैठकमा पनि मन्त्रीको कार्यशैलीप्रति प्रश्न उठेको भएपनि व्यक्ति नै तोकेर यो फेर्नुपर्छ भन्ने ढङ्गले कसैले कुरा राख्नुभएको छैन । काम राम्रो होस् भन्ने अपेक्षा त सबैको हुन्छ नै ।’

उनले बैठकमा मन्त्री र समग्र सरकारको काम नै प्रभावकारी बनाउनुपर्‍यो भन्ने ढङ्गले कुरा उठिरहेको बताए ।

महतले थपे, ‘प्रधानमन्त्री फर्किएपछि सभापतिसँग कुरा भइसकेपछि फेर्नेरनफेर्ने निष्कर्षमा पुगिन्छ । अहिले यो हुन्छ मैले भन्न सक्दिनँ । तर, कुरा चाहिँ हुनसक्छ ।’

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भने मन्त्री हेरफेर गर्ने कुरा प्रधानमन्त्रीको क्षेत्राधिकार भएको बताउँछन् ।

उनले भने, ‘प्रधानमन्त्रीले गर्ने कुरा हो, पार्टीमा उहाँले यो विषय राख्नुभएको छैन । प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएकाले उहाँले नै कांग्रेस सभापति देउवा र संयन्त्रमा छलफल गरेर आवश्यकता अनुसार निर्णय लिनुहुन्छ ।’

पार्टीले सरकारको काम प्रभावकारी भएको निष्कर्ष निकालिसकेको गौतमले सुनाए ।

को–को फेरिएलान् ?
कांग्रेसबाट उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको नेृत्वमा अहिले १० जना मन्त्री छन् ।

कांग्रेसका अन्य मन्त्रीमा रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, प्रदीप पौडेल स्वास्थ्य, बद्री पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, तेजुलाल चौधरी खेलकुद, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा र ऐनबहादुर शाही वनमन्त्री छन् ।

गृह, पर्यटन, कृषि, कानून र ऊर्जामन्त्री विवादमा परिरहेका छन् । उनीहरूको कार्यक्षमतालाई लिएर कांग्रेसभित्रै प्रश्न उठिरहेको छ । देउवाले धेरैजसो नयाँ अनुहार पठाउन सक्ने बताइएको छ ।

यस्तै, एमालेबाट प्रधानमन्त्रीसहित उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा कुल ८ जना सरकारमा छन् । जसमा पृथ्वीसुब्बा गुरुङ सञ्चार, बलराम अधिकारी भूमि, दामोदर भण्डारी उद्योग, देवेन्द्र दाहाल भौतिक, रघुजी पन्त शिक्षा, मानवीर राई रक्षा र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् ।

केही मन्त्रीको काममा प्रधानमन्त्री सन्तुष्ट नभएको बताइन्छ । ओलीले पनि नयाँ अनुहारलाई नै जोड दिने पार्टीमा चर्चा छ ।

शिक्षामन्त्री रघुजी पन्तबाहेक एमालेबाट सबै मन्त्रीको एक वर्षे कार्यकाल सकिदैछ । बजेट कार्यन्वयन गर्नेसमेत जिम्मेवारीका कारण अर्थमन्त्री बिष्णु पौडेलबाहेक अरु को को मन्त्रीले निरन्तरता पाउँछन् भन्ने एमालेमा प्रश्न उठेको छ ।

यस्तै, अशोक राई नेतृत्वको जसपाबाट प्रदीप यादव खानेपानी, नवलकिशोर साह सुडी महिला र लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री छन् । जसपा र लोसपाबाट सरकारमा गएका मन्त्रीहरूको पनि कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट छैनन् ।

केही सिनियरबाहेक अरु मन्त्री बाहिरिएर नयाँले मौका पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्