आजदेखि एएफसी महिला एसियन कप छनोट खेलः नेपालले आज लाओससँग खेल्दै

काठमाडौं, १५ असार । उज्बेकिस्तानमा आजदेखि एएफसी महिला एसियन कप छनोटको पहिलो खेल सुरु हुँदै छ । आजदेखि हुने खेलमा एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज लाओससँग खेल्दै छ ।

खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको यस खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्न चाहनेछ । १००औं खेलका लागि सबै खेलाडीहरू पनि उत्साहित देखिएका छन् ।

महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । पुरुष फुटबलमा नेपाल र लाओस पहिल्लो समयमा भेट भइरहेपनि महिला फुटबलमा भने यसअघि कुनै खेल भएको थिएन । त्यसैले दुवै टिमका लागि नौलो प्रतिद्वन्दी हुनेछ । फिफा वरियतामा नेपाल १००औं तथा लाओस १०७औं स्थानमा छन्।

यस्तै नवनियुक्त बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डका लागि पनि यो नेपाली राष्ट्रिय महिला टिममा डेब्यू खेल हुनेछ । अन्तर्राष्ट्रिय स्तरमा दुई दशकको अनुभव भइसकेपनि उनले पूर्ण रुपमा कुनै पनि राष्ट्रिय टिमको सिनियर टिमको प्रशिक्षण सम्हालेको यो पहिलो पटक हो ।

यद्यपी छनोटको पहिलो खेल खेल खेल्ने दिनसम्म पनि नेपाली टिमको कप्तान भने घोषणा भएको छैन । यसअघि गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नेपालको कप्तानी गर्दै आएकी थिइन् । यस पटक प्रशिक्षक वाइल्डले अन्तिम समयमा कप्तान रोज्ने बताएका थिए ।

उनले पहिलो रोजाईमा मैदान उत्रने खेलाडीबाटै कप्तान रोज्ने सम्भावना छ । यदी एन्जिलाले कप्तानी गर्ने अवसर नपाएमा नेपालले नयाँ कप्तान पाउन सक्छ ।

छनोटको समूह एफमा रहेको नेपालसहित यस समूहमा उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । श्रीलंकासँग ८ खेलमा नेपाल अपराजित छ भने उज्बेकिस्तानलाई हराउन सकेको छैन । उज्बेकिस्तान सबैभन्दा बलियो टोलीका रूपमा छ ।

समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्