५ सयभन्दा बढी कैदीलाई आममाफी दिइने

काठमाडौँ ।  सरकारले देशका विभिन्न जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई गणतन्त्र दिवसको दिन आममाफी दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार नेपालको संविधानको धारा २७६ अनुसार माफी दिन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो।

संविधानको धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिन माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछ’ उल्लेख छ।

माफीको सूचीमा तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको पनि नाम रहेको भए पनि यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी गरिसकेको हुनाले अदालतकै निर्णयमा माफी हुने नहुने टुङ्गो लाग्नेछ।

मन्त्रिपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको भए पनि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो निर्णय लुकाए। उनले अरु निर्णयहरु पढिसकेपछि ‘अब तपाईँहरुलाई काम लाग्ने सकियो’ भन्दै विदा भएका थिए।

प्रतिक्रिया दिनुहोस्