फिल्म ‘ऊनको स्वीटर’ ले सफलताको झण्डा गाड्दा विपिनलाई ठुलो राहत, अभिनय पनि अर्थपूर्ण सावित
काठमाडौं, ९ पुस । अभिनेता विपिन कार्कीको करिअर उचारचढावपूर्ण छ । उनका कुनै फिल्मले लोभलाग्दो सफलता पाएका छन् भने धेरैजसो बक्स अफिसमा नराम्रोसँग पिटिएका छन् । गत वर्ष मात्र उनका ठूला बजेटका दुई फिल्म ‘तेल भिसा’ र ‘कर्मा’ असफल भए । ‘कर्मा’ले त उनलाई दिइएको पारिश्रमिक समेत उठाएन । यी दुई फिल्मको असफलतापछि उनीबाट निर्माताहरू तर्किन थालिसकेका थिए ।
तर, यस वर्षको सुरुवातमै उनलाई फिल्मबाट सफलता मिलेको छ । त्यो सफलता ‘ऊनको स्वीटर’ले दिएको हो । गत बैशाखमा रिलिज भएको यो फिल्म ५१ दिनको संघारमा छ । अहिले पनि विदाको दिनहरूमा फिल्म हेर्ने दर्शक उल्लेख्य देखिने गरेका छन् । यो फिल्म सफल हुँदा विपिनलाई ठूलो राहत मिलेको छ । यसबाट झण्डै एक वर्षपछि उनको असफलताको श्रृंखला तोडिएको हो ।
‘ऊनको स्वीटर’बाट विपिनले सफलता मात्र पाएका छैनन्, धेरैपछि उनको अभिनयको पनि प्रशंसा भएको छ । अघिल्ला दुई फिल्म ‘तेल भिसा’ र ‘कर्मा’मा उनको अभिनयकै आलोचना भएको थियो । उनको फिल्म छनोट शैलीमा समेत प्रश्न उठ्यो । यसअर्थ ‘ऊनको स्वीटर’ विपिनको करिअरका लागि अर्थपूर्ण सावित भएको छ । अब उनको फिल्ममा माग र पारिश्रमिक बढ्ने निश्चित छ ।
यस वर्ष विपिनको अर्को फिल्म ‘पहाड’ पनि प्रदर्शनमा आउँदैछ । जसको प्रदर्शन मिति आगामी कात्तिक ७ गतेलाई तय गरिएको छ । तुलसी घिमिरेको निर्देशनमा बनेको यो फिल्म पनि व्यावसायिक रुपमा सफल भए विपिनका लागि यस वर्ष अविस्मरणीय रहनेछ । योबाहेक रिलिजको लाइनअपमा उनका अरू फिल्म भने छैनन् । न त उनले नयाँ फिल्म सम्झौता गरेको खबर प्राप्त छ ।
प्रतिक्रिया दिनुहोस्