फिल्म ‘अञ्जिला’ ले सय दिन मनायो
काठमाडौंं, ६ असार । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित रहेर बनेको फिल्म ‘अञ्जिला’ले प्रदर्शनमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शुक्रबार फिल्मले प्रदर्शनको सय दिने दुर्लभ यात्रा पूरा गरेको हो । यो फिल्म काठमाडौंको क्यूएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा एक सय दिनसम्म चलेको हो ।
सय दिनको अवसरमा भने क्यूएफएक्सको सिटी स्क्वायर हलसहित काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टीप्लेक्समा फिल्म प्रदर्शन भइरहेको छ । एक सय दिनको अवधिसम्म फिल्मले १२ करोडमाथि कमाइ गरेको निर्माताको दाबी छ ।
‘अञ्जिला’ गत फागुन २९ गतेबाट प्रदर्शनमा आएको थियो । ‘वर्ड अफ माउथ’ बलियो हुँदा फिल्मले प्रदर्शनको तेस्रो सातासम्म आकर्षक कमाइ गरेको थियो । यो गत वर्षको अन्तिम सुपरहिट फिल्म हो । साथै, २०८१ सालमा सर्वाधिक कमाइ गर्ने फिल्मको उत्कृष्ट पाँचमा समेत अटाएको छ । नेपालमा फिल्म राम्रो चलेपछि विदेश राइट्सबाटै निर्माताले लगानी सुरक्षित गरेका थिए ।
मिलन चाम्सको निर्देशनमा तयार भएको ‘अञ्जिला’मा कप्तान एन्जिला आफैँ मुख्य भूमिकामा छिन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । यसका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् । यो फिल्मको आम्दानीबाट एन्जिलाका लागि काठमाडौंमा घर खरिद गर्ने तयारीमा निर्माता श्रेष्ठ छन् ।
प्रतिक्रिया दिनुहोस्