त्रि.विद्वारा काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ । छानविन समितिको प्रतिवेदन बुझाए लगतै त्रिविले नेशनललाई दिएको अस्थायी सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको ०७१ को आदेशलाई देखाएर त्रिविले साउन १२ मा नेशनललाई अस्थायी सम्बन्धन दिने निर्णय गरेको थियो । तर, त्यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सम्बन्धन स्थगनको निर्णय भयो ।

त्रिविले गठन गरेको छानविन समितिले बुधबार घट्टेकुलोस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अनुगमन गर्‍यो । त्यसक्रमा मापदण्ड नपुगेको देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशिकामा मेडिकल कलेज सञ्चालनका लागि ३०० बेडको अस्पताल सञ्चालनमा हुनुपर्ने उल्लेख छ । त्रि.वि कार्यकारी परिषद्द्धारा गठित अनुगमन समितिका सदस्य तथा त्रि.वि प्रशासक परशुराम कोइरालाले भने “अस्पतालको स्थलगत निरिक्षणका क्रममा भने अस्पतालमा एक जना पनि विरामी देखिएन । अस्पताल खाली हुनुका साथै अस्पतालको फार्मेसी समेत बन्द अवस्थामा रहेको फेला पारेका थियो” ।

अस्पतालमा निरीक्षणका क्रममा एकजना मात्र चिकित्सक थिए । एक जना विरामी पनि नरहेको, अस्पतालको फार्मेसी पनि बन्द रहेको भेटिएको प्रतिवेदन समितिले त्रि.वि कार्यकारी परिषद्मा पेश गर्‍यो ।

लगतै परिषद्ले सम्बन्धन खारेजको निर्णय गरेको छ ।

त्रिवि उपकुलपति तीर्थ खनियाँले अनलाइनखबरसँग भने, ‘हामीले अदालतको आदेशको सम्मान गर्दै यो पटकलाई कक्षा चलाउन सम्बन्धन दिएका थियौं । छानविनका क्रममा अस्पतालले स्वास्थ्य मन्त्रालयबाट स्विकृति पनि नलिएको र शिक्षण अस्पतालका रुपमा चालु पनि नरहेको पाएपछि यो पटक कक्षा चल्ने स्थिति देखिएन र अस्थायी सम्बन्धन दिने साउन १२ को निर्णय खारेज गर्‍यौं ।’

प्रतिक्रिया दिनुहोस्