एसियन कप छनोटः नेपालले लाओससँग खेल्दै
काठमाडौं, २७ जेष्ठ। एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज लाओससँग खेल्दैछ । नेपाल र लाओसबीचको खेल मंगलबार साँझ नेपाली समय अनुसार पौने ६ बजे न्यु लाओस स्टेडियममा सुरु हुनेछ ।
नेपाल लाओससँग हालसम्म अपराजित रहँदै आएको छ । यसअघि भएका ६ खेलमा नेपालले ४ खेल जित्दा दुई खेल बराबरीमा सकिएका छन् । आजको खेलमा पनि अपराजित नतिजालाई निरन्तरता दिँदै जितको लक्ष्यमा हुनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको बताएका छन् । लाओस घरेलु टोलि भएकोले कुनै गल्ती गर्न नहुने प्रशिक्षक रोसले मंगलबार बेलुका भएको प्रि कन्फ्रेन्समा बताएका थिए ।
‘मलाई लाग्छ । लाओस पूर्णरुपमा संगठित टोली हो । अत्यन्त आक्रमक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न सक्छ,’ प्रशिक्षक रोसले भने, ‘त्यसैले पनि हामीले भोलीको खेललाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौ । त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेका छन् ।’
त्यस्तै लाओस फुटबल टिमका दक्षिण कोरियाली प्रशिक्षक हा ह्याओक जुनले पनि ३ अंककै लागि खेल्ने बताएका छन् । लाओसको टिमले एक साता जापानको ओसाकामा ट्रेनिङ गरेको थियो ।
‘हामी तीन अंक जोड्ने प्रयास गर्नेछौं । नेपाल हामी भन्दा वरियतामा माथि रहनुका साथै राम्रो टिम भएपछि खेलाडीप्रति विश्वास छ । जापानमा भएको ट्रेनिङमा राम्रो गरेको छ’ जुनले भने ।
लाओसका कप्तान मोउन्फाचान कोउनकोङले जापानमा गरेको ट्रेनिङले सहयोग पुग्ने बताएका छन् । ‘जापानमा गरेको प्रशिक्षकले हाम्रो टिमलाई खेल जित्नका लागि तयार बनाएको छ’ उनले भने ।
समूह एफमा रहेका नेपाल र लाहोस दुवैले छनोटको पहिलो खेलमा हार व्यहोरेका थिए । त्यसैले दुवै टोली अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल अहिलेसम्म लाहोससँग नहारेकोले यो खेल जित्दै छनोटमा अंक जोड्ने योजनामा छ ।
यस खेलमा नेपालका फरवार्ड अन्जन विष्टलाई पनि गोलको कीर्तिमान बनाउने अवसर हुनेछ । अन्जनले नेपालका लागि १३ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हरि खड्का र निराजन रायमाझीसँग शीर्षमा छन् ।
लाओसविरुद्ध गोल गरेमा उनी नेपालका लागि सर्वाधिक गोलकर्ता बन्नेछन् ।
प्रतिक्रिया दिनुहोस्