सौगात, आसिफ र गरिमा अभिनीत फिल्म ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक
काठमाडौं, १४ जेष्ठ। जेठ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’ को रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा लभस्टोरी र कमेडीको समिश्रण छ ।
टेलरमा फिल्मका शीर्ष कलाकारहरू सौगात मल्ल, गरिमा शर्मा र आसिफ शाहबीचको कथा देखाइएको छ ।
कमल नामक अविवाहित युवकको भूमिकामा रहेका सौगात विवाहका लागि युवतिको खोजिमा छन् । संगैका साथीहरू बिदेशिए पनि उनी आफ्नी आमालाई छाडेर जान सकेनन् । त्यसैले उनी आमाको हेरचाह गर्ने युवतिको खोजीमा छन् । त्यसक्रममा उनी गरिमा शर्मा (सम्झना) सँग नजिक हुन्छन् ।उनीहरू एकअर्कालाई मन पराउन थाल्छन् । त्यही बीचमा प्रवेश हुन्छ अर्का कलाकार आसिफ शाहको । अब दुईको मायामा तगारोमाथि तगारो आइपर्छ ।
फिल्मको कथा यसमै अगाडि बढेको सार्वजनिक ट्रेलरबाट बुझन् सकिन्छ ।
‘जन्ते बाख्रो’ लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् भने यसको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।
नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सोही कथामा रहेर फिल्म बनेको निर्माणपक्षले जनाएको छ ।
फिल्ममा शीर्ष भूमिकामा सौगात मल्ल, आसिफ शाह र गरिमा शर्मा छन्। साथमा, लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया, कमल देवकोटा, संगीता शर्मा, समापिका गौतम, रूषा न्यौपाने, कुसुम शर्मा, कुशल गजमेर लगायतको पनि अभिनय छ । मुईन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ को निर्माता सन्तोष गौतम हुन् ।
फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन छ । फिल्म नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । यसलाई नेपालमा टिफल्क फिल्मस्ले वितरण गर्ने छ।
प्रतिक्रिया दिनुहोस्