जेठ १५ को प्रदर्शन शान्तिपूर्ण, अहिंसात्मक र सत्याग्रहपूर्ण हुन्छः राप्रपा अध्यक्ष लिङदेन
काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले जेठ १५ गतेको कार्यक्रम शान्तिपूर्ण हुने बताएका छन् ।
उनले गत चैतमा गरेको प्रदर्शन जस्तै जति नै ठूलो भिड भएपनि कार्यक्रम आयोजकको नियन्त्रणमा हुने बताएका छन् ।
प्रदर्शनको विषयमा सम्पादकहरुसँगको अन्तरक्रिया गर्दै उनले भने, ‘हाम्रो आन्दोलन पूर्णरुपले शान्तिपूर्ण, अहिंसात्मक र सत्याग्रहपूर्ण हुन्छ । हाम्रोतर्फको हिंसा भड्काउने कुनै पनि क्रियाकलाप हुँदैन ।’
त्यस्तै, उनले चक्रपथबाहिर सरकारले आन्दोलन गर्न भनेको विषयमा प्रष्टीकरण दिँदै बाहिर गर्दा प्रभाव र दबाब सिर्जना नहुने भएकाले रत्नपार्कमा गर्ने घोषणा गरिएको बताए ।
हामीले यो कार्यक्रमको लागि स्वीकृति किन लिइराख्नु पर्दैन भने हामीले कुनै मञ्च खडा गरेर सभा गर्दैनौं । हामीले शहरभरी प्रदर्शन गर्ने हो । तर हामीले केन्द्र रत्नपार्कलाई किन बनाएका छौँ भने त्यहाँ गर्यौँ भने धेरै आवागमनलाई पनि असर गर्दैन । हामीले भित्रै गर्नुपर्छ । बल्खुमा गरेर, बालाजुमा प्रदर्शन गरेर विरोध पनि हुँदैन दबाब पनि सिर्जना हुँदैन । मुख्य शहरभित्रै गर्नुपर्छ र रत्नपार्कमा गर्ने भनेर घोषणा गरेका छौं ।
हामीले त्यहाँ कार्यक्रम गर्ने भनेर घोषणा गर्यौँ । र त्यसपछि प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुलाई पनि त्यही नजिकै भेला हुुनु भनेर जुन मुठभेड निम्त्याउने क्रियाकलाप अगाडि बढेको छ । गलत छ ।
२०४६ सालमा पनि परिवर्तन आउँदा पनि चुनावबाट भएको होइन । ०६२÷६३ मा पनि परिवर्तन आउँदा चुनावबाट होइन । जनताबाटै आएको हो । त्यसैले आधारभूत तहमै परिवर्तन ल्याउन आन्दोलन नै चाहिने भएकाले हामीले जनआन्दोलनको घोषणा गरेका हौं । यो जनआन्दोलन विगतका आन्दोलन भन्दा फरक हुन्छ । अघिल्ला आन्दोलनहरुमा हिंसात्मक भए । धेरैको ज्यान गयो । यो सत्याग्रहको रुपमा हुनुपर्ने भनेर सडकको बाटो पक्रेका छौं ।
कतिपयले यो व्यवस्थाको विरोध गर्ने र दोहोरो सुविधा पनि लिने भनेर सोधिरहनुभएको हुन्छ । यसलाई पनि आन्दोलनकै एउटा पार्टको रुपमा लिन पनि आग्रह गर्छौं । यो पनि आन्दोलनको पार्ट हो भनेर कसरी भन्न सक्छु भने यदि हामी संसदमा थिएनौ भने यसरी यो तहको आन्दोलन गर्न सक्ने अवस्था आउन सक्ने थिएन ।
हाम्रो आन्दोलनमा विश्व समुदायले निरपेक्ष भएर अवलोकन गरोस् । र कुनै पनि प्रकारको हस्तक्षेप नगरोस् भन्ने हाम्रो चाहना राख्छौं । स्वभाविकरुपमै हिजो विदेशीकै संलग्नतामा भएको १२ बुँदे सहमति र त्यसको जगमा उठेको आन्दोलन र त्यसपछि मुलुकमा भित्रिएको संघीयता र धर्म निरपेक्षताका रुपमा भनिराख्नु पर्दैन । उनीहरुले आफ्नो गल्ती सुधारे भने हामी खुशी हुन्छौं ।
प्रतिक्रिया दिनुहोस्