बर्नमाउथलाई हराउँदै म्यानचेस्टर सिटी तेस्रो स्थानमा

काठमाडौं, ७ जेष्ठ । बर्नेमाउथलाई पराजित गर्दै म्यानचेस्टर सिटी प्रिमियर लिग अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

गएराति इतिहाड स्टेडियममा सिटीले ३–१ गोलले बर्नेमाउथलाई हराउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।

खेलको १४ मिनेटमा गोल गर्दै ओमार मारमुसले घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाए। बर्नान्डो सिल्भाले ३८ मिनेटमा अग्रता दोब्बर पारे।

६७ मिनेटमा माटेओ कोभ्यासिस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित भएको थियो।

७३ मिनेटमा बर्नेमाउथका लेविस कुक पनि रातो कार्ड खाँदै बाहिरिएपछि मैदानमा दुवै टोलीको १०–१० खेलाडी भएको थियो।

८९ मिनेटमा निको गोन्जालेजले गोल गर्दै सिटीको जित निश्चित गरेका थिए।

अतिरिक्त समयको छैटौं मिनेटमा बर्नेमाउथका ड्यानियल जाबिसनले सान्त्वना गोल फर्काए।

लिगमा सबै टिमले ३७।३७ खेल खेलिसकेका छन्। यद्यपि लिगको उपाधि यसअघि नै लिभरपुलले जितिसकेको छ।

शीर्ष पाँच टिममा रहँदै आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने टिमको निर्धारण हुन भने बाँकी छ।

तेस्रो स्थानमा उक्लिएको सिटीको ६८ अंक छ। दोस्रो स्थानको आर्सनलको ७१, चौथो स्थानको न्यूकासल, पाँचौं स्थानको चेल्सी र छैटौं स्थानको एस्टन भिल्लाको समान ६६ अंक छ।

अब सबै टिमले एक।एक खेल खेल्नेछन्।

सिटीले अब फुलहमसँग, आर्सनलले साउथह्याम्प्टनसँग, चेल्सीले नटिंघम फरेस्टसँग, एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्