सरुवा रोगको संक्रमण बढ्यो, पिउने पानी र खानपानमा ध्यान दिन चिकित्सकको सुझाव

काठमाडौं । यसवर्ष वर्षायाममा देखिने सरुवा रोगको जोखिम छिटो देखिएको छ ।
गएका वर्षहरुमा जेठ अन्तिममा मात्र देखिने विभिन्न रोगको संक्रमण यसवर्ष अहिले नै देखिन थालेको डाक्टरले बताएका छन् ।

अहिले टाइफाइड, आउँ, सर्पदंश, स्क्रव टाइफस जस्ता संक्रमण बढेको छ ।
झण्डै २० जनासम्म नयाँ बिरामी दैनिक अस्पताल पुग्ने गरेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार पानी दुषित हुँदा गएको वर्षको तुलनामा विभिन्न सरुवा रोग अहिले नै देखिएको हो । घाम लाग्दै पानी पर्दा पानीको मुहान दुषित हुने र दुषित पानी पिउँदा टाइफाइड, आउँ, स्क्रव टाइफस जस्ता संक्रमण धेरैमा देखिएको उहाँले बताउनुभयो ।

यी रोगबाट बच्न सकेसम्म घर बाहिरको खानेकुरा नखाने, घरमै पनि धेरै बासी खानेकुरा नखाने, पानी उमालेर वा निर्मुलिकरण गरेर मात्र पिउन डाक्टर पुनको सुझाव छ ।

यस्तै, आफूले पिउने गरेको जारको पानीको गुणस्तर ख्याल गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
व्यक्ति विशेषले सञ्चालन गरेको जारको पानी शुद्धीकरण बिना नै उपभोक्तासम्म पुग्ने गरेकाले पनि ख्यान गर्नुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्