सहकारी ठगीको मार्मिक कथा समेटिएको चलचित्र ‘महाभोज’ को ट्रेलर सार्वजनिक

काठमाडौं, ४ जेष्ठ । यही जेठ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबिच सार्वजनिक ४ मिनेटको ट्रेलरमा सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितहरूको मार्मिक कथा देखाइएको छ ।

ट्रेलरमा चलचित्रका मुख्य पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला देखिएका छन् ।

ट्रेलरकोबिचमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि मात्र नभई ज्यान नै गुमाउन पुगेका आम मानिसको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिक रूपले चलखेल गर्नेहरूको दम्भलाई देखाइएको छ ।

आफूले दैनिक जम्मा गरेको रकमको कारण मृत्युमा समेत परिणत भएको विपन्न सदस्यहरूको दृश्यले सामाजिक असमानताको गम्भीर रूप प्रकट गरेको ट्रेलरमा देखाइएको छ । त्यस्तै सहकारी संस्थामा पहुँच राख्नेहरूले आफ्नो पद र पदवीको फाइदा उठाउँदै कसरी सर्वसाधारणको रकमलाई निजी विलासी जीवनमा प्रयोग गर्छन् भन्ने कथा समेत ट्रेलरमा छ । ट्रेलरको अन्त्यतिर भित्तामा ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृश्य देखाइएको छ ।

चलचित्रका निर्देशक दिनेश राउतले समाजमा सहकारीको रकम मिसयुज हुने घटनाहरू बढेको कारण यस्तो विषय फिल्ममा उठाएको बताए ।

‘हाम्रो समाजका माथिल्ला स्तरका केही मानिसहरूले तल्लो स्तरका मानिसहरूलाई प्रयोग गरी कसरी आफ्नो बिलासी जीवन जिउँछन् भन्ने कथा यो फिल्मले उठाएको हो’, निर्देशक राउतले भने ‘सहकारीको कथा एक कारक मात्र हो ।’

निर्माता हिमाल कडरियाले प्रलोभनको कथामा फिल्म बनेको बताए । विकास सुवेदीले कथा तथा पटकथा रहेको चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको हो ।

ट्रेलर सार्वजनिक समारोहमा चलचित्रका कलाकारहरुले आफ्नो अभिनय अनुभव सुनाए ।

प्रतिक्रिया दिनुहोस्