नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ वर्ष ०८२ को पहिलो हिट फिल्म बन्ने बाटोमा
काठमाडौं, १ जेष्ठ। गत फागुनमा प्रदर्शित ‘अञ्जिला’ पछि शिथिल बनेको नेपाली फिल्मको व्यापार अघिल्लो हप्ता (बैशाख २६ गते) प्रदर्शनमा आएको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले चलायमान बनाएको छ । सन्तोषजनक ओपनिङ गरेको फिल्मलाई दोस्रो हप्ताको सम्मुखसम्म दर्शकको उच्च साथ मिलेको छ । काजकाजी दिनमा समेत फिल्मको देशव्यापी अकुपेन्सी उत्साहजनक देखिएको छ ।
बुधबार प्रदर्शनयता एकैदिनमा सबैभन्दा धेरै दर्शकले फिल्म हेरेको वितरक गोविन्द शाहीले दाबी गरेका छन् । उक्त दिनमा आधा मूल्यमा टिकट पाइने भएकाले पनि फिल्मलाई देशभर प्राप्त करिब ८० प्रतिशत हाउसफुल भएका थिए । पूर्वका धरान, इटहरी, विराटनगर जस्ता सहरका हलमा टिकट नै हाहाकार भएको थियो । बिहीबार पनि फिल्मको देशभर अकुपेन्सी राम्रो देखिएको छ ।
‘ऊनको स्वीटर’प्रति दर्शकको आकर्षण हेर्दा यो नै यस वर्षको पहिलो हिट फिल्म बन्ने देखिन्छ । यद्यपि, यसका लागि फिल्मले अझै लामो यात्रा गर्नुपर्नेछ । किनकि, फिल्मको लगानी उठ्न ६ करोडमाथिको व्यापार आवश्यक छ । बुधबारसम्म फिल्मको व्यापार ३ करोडमाथि रहेको जनाइएको छ । पहिलो हप्ताजस्तै व्यापारिक रफ्तार कायम रहे अब ३ करोड जोड्न फिल्मलाई मुस्किल छैन ।
फिल्मले देशभर उत्साहप्रद व्यापार गरेपछि अब फिल्मको टिमले देशव्यापी भ्रमण सुरु गर्ने भएको छ । निर्देशक चौहानका अनुसार दमौलीबाट सुरु हुने भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ । भ्रमणमा उनीसहित अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ, र सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्