महुली लघुवित्तको ब्याज आम्दानीसँगै बढेर नाफामा

काठमाडौं, २५ बैशाख। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २५.६२ प्रतिशत धेरै हो । गतवर्ष लघुवित्तले ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन थियो ।

लघुवित्तको खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा लघुवित्तको नाफामा बढोत्तरी भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५ करोड ८२ लाख रुपैयाँ छ । गतवर्ष कम्पनीको यस्तो आम्दानी १९ करोड ४० लाख रुपैयाँ थियो । त्यसैगरी लघुवित्तको सञ्चालन आम्दानी २५.६३ प्रतिशतले बढेर ५ करोड ७९ लाख रुपैयाँ छ ।

यस अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज ६ करोड ४ लाख कायम छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा उल्लेख्य बढेको छ । लघुवित्तको वितरणयोग्य नाफा ४ करोड ६१ लाख रुपैयाँबाट बढेर ५ करोड ७९ लाख रुपैयाँ छ ।

सार्वजनिक वित्तीय अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक १४ रुपैयाँ ६२ पैसा छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ५१ पैसा छ ।

चालु आर्थिक वर्षको ९ महिनामा एक अर्ब ७५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर चार अर्ब ९२ करोड १५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । ३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ३० करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्