फिल्म ‘जार’ को प्रिमियर, कथावाचन शैलीको प्रशंसा
काठमाडौं, २४ बैशाख। साहित्यकार इन्द्रबहादुर राईको बहुचर्चित कथा ‘जारःभएकै एउटा कथा’मा आधारित भएर बनेको फिल्म ‘जार’को सिक्किम र सिलिगुडीपछि काठमाडौंमा प्रिमियर गरिएको छ । मंगलबार आयोजित प्रिमियरमा पूर्वप्रधानमन्त्रीदेखि चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो । फिल्म हेरेपछि प्रायःले कथावाचन शैली, छायांकन, ब्याकग्राउन्ड स्कोर जस्ता पक्षको प्रशंसा गरेका थिए ।
पत्नी हिसिला यमीको साथमा प्रिमियरमा पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इन्द्रबहादुर राईको कथालाई ‘जार’ले न्याय गरेको बताउँदै दुई सय वर्ष पुरानो परिवेशलाई समेत जीवन्त रुपमा उतारिएकोमा प्रशंसा गरे । त्यतिबेलाको समाज र जार प्रथाको इतिहास बुझ्न युवापुस्ताले यो फिल्म हेर्नुपर्ने उनको सुझाव छ । उनले ‘जार’लाई राज्यले कर छुट गर्नुपर्ने समेत बताए ।
‘साहित्यकार राईको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ । नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि ‘जार’ हेर्नुपर्छ भन्ने मलाई लागेको छ,’ उनले भने, ‘मैले आईएसीमा पढेको इन्द्रबहादुर राईको कथालाई फिल्ममा हेर्न पाउँदा निकै आनन्द आयो ।’ उनले संगीतकार झुमा लिम्बूको संगीतको पनि प्रशंसा गरे ।
यस्तै, ललितपुरका सांसद उदय शमशेर राणाले ‘जार’ आफूलाई एकदम फरक र पूर्ण मौलिक फिल्म लागेको बताए । इन्द्रबहादुर राईको कथा पर्दामा जीवन्त रुपमा आएकोमा खुसी व्यक्त गर्दै उनले इतिहास बुझ्नका लागि मात्रै नभइ आत्मसमीक्षा गर्नका लागि पनि ‘जार’ हेर्न आग्रह गरेका छन् । उनले ‘जार’लाई राम्रो फिल्म निर्माणको उदाहरण भनेका छन् ।
अभिनेत्री मनीषा कोइरालाले ‘जार’ नेपाली फिल्मको बढ्दो स्तरको प्रमाण भएको बताइन् । उनले भनिन्, ‘हामीले पछिल्लो समय उत्कृष्ट फिल्म दिएका छौँ र ‘जार’ त्यसैको निरन्तरता हो । यसले हाम्रो इतिहास र साहित्यलाई फिल्मको माध्यमबाट जीवन्त बनाएको छ । प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ ।’
अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली फिल्मको विकासमा एउटा महत्त्वपूर्ण पाइला भएको बताए भने अभिनेत्री केकी अधिकारीले निर्देशकको दृढ आत्मविश्वासको प्रशंसा गरिन् । निर्देशक दीपेन्द्र लामाले ‘जार’ले नेपाली फिल्मको कलात्मक उचाइँ अग्लो बनाउन एउटा महत्त्वपूर्ण इँट्टा थप्ने काम गरेको प्रतिक्रिया दिएका छन् ।
१८०० को दशकको वास्तविक घटनामा आधारित यो फिल्मलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् । यसमा सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापाको मुख्य भूमिका छ । प्रिमियरमा गीताञ्जलीको अभिनयको सबैभन्दा बढी प्रशंसा भएको थियो । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सरवानन इलावार्सुको डीओपी तथा झुमा लिम्बूको संगीत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्