राजस्थानलाई पराजित गर्दै बेंग्लुरू तेस्रो नम्बरमा

काठमााडौं, १२ बैशाख । रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

गएराति नवौं खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै बेंग्लुरू तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।

उसले ६ खेल जित्दै १२ अंक जोडेको छ। समान अंकका साथ गुजरात टाइटन्स पहिलो र दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ। उनीहरूले एक खेल कम खेलेका छन्।

एम चिन्नाश्वामी स्टेडियममा गएराति बेंग्लुरूले राजस्थानलाई ११ रनले पराजित गरेको थियो।

२०६ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेट गुमाएर १९४ रनमात्रै बनाउन सक्यो।

राजस्थानका लागि ओपनर यशश्वी जैसवालले १९ बलमा ७ चौका र ३ छक्का हानेर बनाएको ४९ रन सर्वाधिक रह्यो।

ध्रुव जुरेलले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४७ रन बनाएका थिए। नितिश रानाले २८, कप्तान रियान परागले २२ र वैभव सूर्यवंशीले १६ रनको योगदान गरे।

बलिङमा बेंग्लुरूका जोश हेजलउडले चार विकेट लिए। क्रुनाल पाण्डेले २ तथा भूवनेश्वर कुमार र यश दयालले एकरएक विकेट लिए।

पहिले ब्याटिङ गरेको बेंग्लुरूले ५ विकेट गुमाएर २०५ रन बनाएको थियो। त्यस क्रममा विराट कोहली र देवदत पाडिकलले अर्धशतक हाने।

कोहलीले ४२ बलमा ८ चौका र २ छक्का हानेर ७० रन बनाउँदा पाडिकलले २७ बलमा ४ चौका र ३ छक्का हानेर ५० रन बनाएका थिए।

ओपनर फिल सल्टले २३ बलमा ४ चौका हानेर २६ रन जोडे। टिम डेविडले २३ र जितेश शर्माले २३ रनको योगदान गरे।

बलिङमा राजस्थानका सन्दीप शर्माले २ तथा जोफ्रा आर्चरले १ र वानिडु हसरंगाले एकरएक विकेट लिए।

शुक्रबार चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।

प्रतिक्रिया दिनुहोस्