राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,१२ वैशाख । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यस ऋणपत्रमा आवेदन दिने सक्नेछन् । यसअघि ऋणपत्र आवेदन दिने समय वैशाख २१ गतेसम्म थप भएपनि मागभन्दा बढी आवेदन परेकाले आजदेखि उक्त ऋणपत्रको बिक्री बन्द हुने कम्पनीले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । त्यस्तै, सो मध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्नेछ ।

बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । ९ लाख ५० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकले ७ वर्ष अवधि भएको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ बिक्रीमा ल्याएको हो । उक्त डिबेन्चरको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ । यसमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्