सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति आवश्यक तथा सम्भव दुवै छः वैद्य

काठमाडौं । अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति आवश्यक तथा सम्भव दुवै रहेको बताएका छन ।

रुसमा लेनिनको नेतृत्वको पार्टीद्वारा सय वर्षअघि १९१७ नोभेम्बर ७ गते (अक्टोबरमा क्रान्ति भए पनि पात्रो परिवर्तन भएको) अर्थात् आजकै दिन समाजवादी क्रान्ति सम्पन्न भएको थियो । विज्ञप्तिमा भनिएको छ, “माक्र्सले पेरिस कम्युनका सन्दर्भमा भनेझैँ अक्टोबर क्रान्तिका सिद्धान्त शाश्वत र अविनाशी छन्, जबसम्म विश्व सर्वहारा वर्ग र उत्पीडित मानव जातिको मुक्ति हुँदैन, तबसम्म अक्टोबर क्रान्तिका सिद्धान्त बारम्बार प्रकट भइरहने छन् ।”

साम्यवादको अहिलेको पराजय अस्थायी तथा क्षणिक भएको तथा साम्राज्यवाद गम्भीर संकटमा फसिरहेको जिकिर विज्ञप्तिमा गरिएको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह मनाउनाको सार्थकता र वास्तविक मूल्य साम्राज्यवाद तथा विस्तारवादसहित सबै खाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध लड्नुरहेको नेता वैद्यले बताए ।

प्रतिक्रिया दिनुहोस्