काठमाडौँको वायु गुणस्तर खतरनाक विन्दुमा, सकेसम्म घरबाहिर ननिस्किन आग्रह

काठमाडौं, २१ चैत । काठमाडौंको वायु प्रदूषण सूचकाङ्क निकै अस्वस्थकर (खतरनाक) विन्दुमा पुगेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँसहित प्रमुख सहरको वायु प्रदूषण गुणस्तर खतरनाक भएको भन्दै बच्ने उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ ।

बिहीबार काठमाडौँको वायु प्रदूषण सूचकाङ्क (एक्युआइएयर) ३०८ पुगेको छ । दोस्रोमा इराकको वग्दाद रहेको छ । त्यहाँ १८९ एक्युआइयुस रहेको छ । जबकी ५० एक्यु आइएयर भन्दा माथिलाई राम्रो मानिँदैन ।

साथै प्राधिकरणले वायु प्रदूषणका कारण मानिसहरूमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुख्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य सम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै गएको बताएको छ ।

गर्मी मौसम बढेसँगै बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माण लगायतका निर्माण कार्यसँगै निस्केका धुलाका कण, सवारी प्रदूषण, फोहर मैला र फोहर मैला जलाउने कार्य, काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुवात नभइसकेको अवस्थामा केही दिनयता काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको अवस्थामा पुगेको प्राधिकरणले जनाएको छ ।

‘वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) निकै अस्वास्थ्यकर बिन्दुमा पुगेको हुँदा मानिसहरूमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुख्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य सम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै गएको देखिन्छ’, प्राधिकरणले भनेको छ ।

वायु प्रदूषणको गाम्भिर्यतालाई ध्यानमा राखी सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरू घरबाटै व्यवस्थापन गर्न सकिने अवस्था भए घरबाटै गर्न प्रोत्साहन गर्न, सवारी साधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाइमा ध्यान दिन, अत्यधिक धुलो र धुवाँ उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न पनि सरकारले आग्रह गरेको छ ।

सरकारले फोहर मैलाको सही व्यवस्थापन गर्न एवं फोहर मैला नजलाउन, वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न, बालबच्चा, वृद्धवृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरचाह गर्न र प्रदूषण बढेको बेला घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सबैमा अनुरोध गरेको छ ।

‘वायु प्रदूषण विज्ञहरूका अनुसार अझै एक हप्ता वायु प्रदूषणमा सुधार नहुने देखिएकोले सम्बन्धित जिम्मेवार निकायले वायु प्रदूषणको अवस्थामा सुधार ल्याउन एवं संकटासन्न संवेदनशील समूहलाई सम्भावित असरबाट जोगाउन आवश्यक कदम चाल्नुहुन समेत प्राधिकरण विशेष अपिल गर्दछ’, प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्