प्रधानमन्त्री ओलीले दिए जापानी प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत उनले निमन्त्रणा गरेका हुन् ।

राजदूत ओगावाले सोमबार साँझ प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गरेका थिए। उनी आफ्नो कार्यकाल सकेर मङ्गलबार स्वदेश फर्किंदै छन् ।

भेटमा प्रधानमन्त्री ओलीले गएको ११ वर्षदेखि नेपाल र जापानबीचमा उच्चस्तरीय भ्रमण हुन नसकेको उल्लेख गर्दै यथासम्भव छिटो नेपाल भ्रमणका लागि जापानी प्रधानमन्त्रीलाई आमन्त्रण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

आफ्नो चारवर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लागेका राजदूत ओगावा नेपालमा रहँदा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सफल भएकोमा प्रधानमन्त्री ओलील बधाई ज्ञापनसमेत गरे ।

उनले नेपालको एक हितैषी एवं प्रमुख दाता राष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक, शैक्षिकलगायत विकासका विभिन्न क्षेत्रमा जापानले विगत लामो समयदेखि विनाशर्त पुर्याउँदै आएको सहयोगप्रति जापानलाई विशेष धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच हाल रहिआएको सुमधुर सम्बन्धले आगामी दिनमा निरन्तरता पाओस् भनी राजदूत ओगावामार्फत शुभकामनासमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्