शिक्षा भन्दा मनोरञ्जनले भरिपूर्ण फिल्म कर्माः सौरभ चौधरी

गत वर्ष प्रदर्शन भएको फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक हुन्, सौरभ चौधरी । यो फिल्मले उनलाई एक्सनमा सम्भावना बोकेको निर्देशकको रुपमा चिनायो । अब उनी निर्देशित तेस्रो फिल्म ‘कर्मा’ यही चैत २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । उनको यो फिल्म पनि एक्सन प्रधान हो । यसमा उनले अभिनेता विपिन कार्कीलाई पहिलो पटक एक्सन भूमिकामा उतारेका छन् ।

धेरैलाई सौरभले एक्सन भूमिकामा विपिनलाई नै किन लिए भन्ने कौतुहलता पनि छ । यसबारेमा उनी भन्छन्, ‘फिल्ममा एक्सन मात्र गर्नुपर्ने सिन धेरैमा २।४ वटा हुन्छ । त्योबाहेक त सिन ‘क्यारी’ गर्नुपर्छ । यसैले सिन ‘क्यारी’ गर्न सक्ने कलाकार चाहिएकाले विपिन कार्कीलाई रोजेको हुँ ।’ एक्सनका लागि विपिनले निकै मेहनत गरेकाले दर्शकलाई कहीँ पनि अस्वभाविक नलाग्ने उनी बताउँछन् ।

‘एक्सन सिनका लागि विपिन दाईले धेरै नै मेहनत गर्नुभएको छ । उहाँलाई ‘एक्सन हिरो’ देखाउने हामीले प्रयास गरेका छौं । र, त्यो चिज स्क्रिनमा पनि देखिएको छ । विपिन कार्कीले गरेको एक्सन भएन भन्ने चाहिँ छैन । उहाँले भयंकरै मेहनत गर्नुभएको छ,’ उनी विपिनको तारिफ गर्दै अगाडि भन्छन्, ‘मैले अहिलेसम्म काम गरेका कलाकारहरुमध्ये सबैभन्दा अनुशासित पनि उहाँलाई नै पाएँ ।’

सौरभ ‘कर्मा’का हरेक सिन आफैंमा एक्सन रहेको दाबी गर्छन् । भन्छन्, ‘यो फिल्ममा ‘ग्राउन्ड लेभल’को मान्छेको कथा छ, जसको जीवनमा समाज र सिस्टमका कारण के(के परिवर्तन आउँछ र उसले केसम्म भोग्नुपर्छ भन्ने देखाएका छौं । फिल्मको सबै सिनहरू नै एक्सन छन् । एकछिन लभस्टोरी चल्यो अनि लगत्तै एक्सन आयो भन्ने खालको छैन । हरेक सिनहरूले एक्सन महसुस गराउँछ ।’

उनको बुझाइमा फिल्म भनेको मनोरञ्जन हो । यसैले ‘कर्मा’ मनोरञ्जनका लागि बनाएको उनको भनाइ छ । ‘फिल्म मानिसको दोस्रो प्राथमिकता हो । पहिलो प्राथमिकता गाँस, बास र कपास हो । दोस्रो प्राथमिकतामा मनोरञ्जन पर्छ,’ उनी भन्छन्, ‘मैले यसबाट कुनै शिक्षा वा ज्ञान बाँड्न खोजेको छैन । फिल्म भनेको मनोरञ्जनका लागि हेर्ने हो । र, मैले ‘कर्मा’ पनि मनोरञ्जनकै लागि बनाएको हुँ ।’

उनका अनुसार ‘कर्मा’ एउटा वास्तविक घटनाबाट प्रभावित फिल्म हो । तर, त्यसमा ‘सिनेम्याटिक लिबर्टी’ लिइएको उनी बताउँछन् । भन्छन्, ‘एकजना व्यक्तिको जीवनबाट प्रभावित भएर फिल्म बनेको हो । त्यसमा ‘सिनेम्याटिक लिबट्री’ भने लिएका छौं । उहाँको जीवनका घटनाले मलाई उत्साहित बनाएको थियो ।’ ‘कर्मा’ सस्पेन्स, ड्रामा, लभ र एक्सनको पूर्ण प्याकेज रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्