नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै

काठमाडौ., ८ चैत । नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको हो ।

नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६ः१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपालले नवनियुक्त प्रशिक्षक म्याट रोसको आगमनपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । त्यसका लागि आफू निकै उत्साहित रहेको उनले बताएका थिए ।

मुख्य प्रशिक्षक रोसको लागि सिंगापुर विरुद्धको खेल ऐतिहासिक हुनेछ । किनकी उनी कुनै पनि पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा यही खेलबाट डेब्यु गर्दैछन् । उनले सिंगापुर जानुअघि नै आफ्नो सपना पूरा हुने बताएका थिए ।

नेपालले ३६ वर्ष पछि सिंगापुरसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । यसअघि पछिल्लो पटक सन् १९८९ मा नेपालले विश्वकप छनोट अन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो ।

यस्तै नेपाल र सिंगापुर पाँचौ पटक भिड्न लागेका हुन् । यसअघिको चार भेटमा नेपाल जितविहिन छ । सिंगापुरले ३ खेल जित्दा १ खेल बराबरीमा सकिएको थियो । नेपालले आज सिंगापुरसँगको मैत्रीपूर्ण खेलले भाग्य र भविष्य निर्धारण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्