रहस्यमय कथा बोकेको फिल्म ‘खेल’ को पोस्टर सार्वजनिक
काठमाडौं,५ चैत । आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खेल’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटालाई समेटिएको पोस्टरमा सबैलाई गम्भीर भावमा देख्न सकिन्छ ।
रहस्य र डर झल्काउने गाढा निलो र कालो रङ्गको संयोजनमा तयार पारिएको पोस्टरको अगाडिको भागमा कलेजको पहिरनमा रहेका विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण दर्साउने आँखाको डरलाग्दो छाँया देखिन्छ । पोस्टरको सबैभन्दा अगाडि सुरक्षालाई राखिएको छ । यसको अर्थ फिल्मको कथा उनीमा केन्द्रित छ ।
अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त निर्देशन रहेको ‘खेल’मा लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता तथा कुणानराज गुरुङ र रहिशराज महर्जन सह(निर्मातामा छन् । फिल्मको कथा आशिषराज महर्जनले लेखेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानको हो भने संवाद विष्णु गैरेले लेखेका छन् ।
फिल्मको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित रहेको निर्देशक प्रधानले बताए । उनले भने, ‘अध्ययनका लागि काठमाडौं आएर होस्टेलमा बसेका चारजना मिल्ने साथीहरूको कथा फिल्मले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ ।’
किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतको पनि अभिनय रहेको ‘खेल’लाई रोशन राई र सञ्जय लामाले खिचेका हुन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् । ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल र कस्ट्युम डिजाइन एलेक्स बसुकलाको छ । प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् ।
प्रतिक्रिया दिनुहोस्