प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको लगातार पाँचौ जित

काठमाडौं, ४ चैत । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार पाँचौ खेलमा जित हात पारेको छ।

पुलिसले सोमबार रुपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गर्दै आफ्नो अपराजयको यात्रा कायम राखेको हो।

शीर्ष स्थानको पुलिससँग पराजित भएसँगै अंक तालिकाको पुछारमा रहेको सुदूरपश्चिमले आफ्ना पाँचमध्ये चार खेलमा हार ब्यहोरिसकेको छ।

पुलिसले दिएको १६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमै अलआउट भयो।

सुदूरपश्चिमका लागि शेर मल्लले ३२, मिलन बोहराले २३ रन र ओपनिङ ब्याटर टेक रावतले १२ रन जोडे। अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमको इनिङ ध्वस्त पार्ने क्रममा पुलिसका स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिन सफल भए। प्लेयर अफ दि म्याच ललितले ७ ओभरमा १६ रन मात्र दिए। ललितले जारी प्रतियोगितामा दोस्रो पटक ६ विकेट लिएका हुन्। उनले यसअघि एपिएफविरूद्ध पनि ६ विकेट लिएका थिए। उनले पाँच खेलमा २१ विकेट लिइसकेका छन्। उनले मधेसविरूद्धको अघिल्लो खेलमा ५ विकेट हात पारेका थिए।

सोमबार टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १६० रनमा अलआउट भएको थियो।

पुलिसका लागि आरिफ शेखले बढी ४० रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले सबैभन्दा ४२ रन जोड्ने क्रममा ४७ बलमा खेलेर ५ चौका प्रहार गरे।

बलिङमा सुदूरपश्चिमका सूर्य श्रेष्ठले ४ विकेट लिए भने भोजराज भट्टले ३ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्