फिल्म ‘आउट ल’ को एक्सन दर्शकले रुचाए, बक्स अफिसमा सुखद् सुरुवात
काठमाडौं, ३ चैत । होलीको दिन पारेर बिहीबारदेखि प्रदर्शनमा आएको एक्सनप्रधान फिल्म ‘आउट लः दफा २१९’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । पहिलो दिन फिल्मले देशभरका हलमा ४० प्रतिशतमाथि अकुपेन्सी हासिल गर्यो । काठमाडौंमा केही शो हाउसफुल समेत भए । ‘वर्ड अफ माउथ’ बलियो भएकाले आगामी दिनमा फिल्मको अकुपेन्सी दर बढ्दै जाने विश्वास निर्माण टिमको छ ।
बिहिबार दिनभर काठमाडौंका विभिन्न हलमा पुगेर फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खानले दर्शकको प्रतिक्रिया बुझेका थिए । फिल्म हेर्नका लागि युवापुस्ताका दर्शकहरुको चाप हलमा बढी देखिएको थियो । फिल्म हेरेपछि अधिकांशले यसको एक्सनको खुलेरै तारिफ गरे ।
फिल्म हेरेर निस्किएकी एक युवतीले सुशील श्रेष्ठको कामको तारिफ गर्दै नेपालमा यसअघि यो किसिमको एक्सनमा फिल्म नबनेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘सायद, यस्तो एक्सन नेपालमा अहिलेसम्म बनेकै थिएन होला । यस्तो फिल्म आएपछि हामीले बलिउड र साउथ फिल्म पनि हेर्नुपर्दैन । कथावस्तु पनि राम्रो छ ।’ यस किसिमको प्रतिक्रिया अन्य दर्शकको पनि थियो ।
बिहीबार नै फिल्म हेर्न पुगेका कलाकार गजित बिष्टले पनि एक्सन पक्ष बलियो रहेको बताए । उनले भने– ‘सुरुवातमा फिल्म केही ‘स्लो’ छ । विस्तारै फिल्मले आफ्नो पकड मजबुत तरिकाले जमाएको छ । एक्सन त गज्जब नै छ । एक्सन मन पराउने दर्शकका लागि यो फिल्म विशेष हुनसक्छ ।’ उनले सुशीलले एक्सनमा गरेको मिहिनेतको पनि खुलेर प्रशंसा गरे ।
दर्शकबाट प्राप्त उत्कृष्ट प्रतिक्रियाले सुशील उत्साहित देखिएका छन् । उनी भन्छन्, ‘मैले ४ वर्षसम्म एउटा राम्रो फिल्म गर्छु भनेर अफर आएका थुप्रै फिल्म छाडेको थिएँ । आज दर्शकहरुले दिनुभएको प्रतिक्रियाले उत्साहित छु ।’ उनले पूर्ण एक्सन भूमिकामा काम गरेको यो पहिलो फिल्म हो । यसमा उनले ज्यान नै जोखिममा राखेर केही खतरनाक दृश्य दिएका छन् ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, विशाल पहारी, महेश त्रिपाठी, सुमन भण्डारी, हेम महर्जन लगायतको अभिनय छ । अमित अग्रहरि र निशा गुइडेको संयुक्त निर्माण रहेको ‘आउट ल’मा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन तथा चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।
प्रतिक्रिया दिनुहोस्