नेपाल क्रिकेट संघले वार्षिक क्यालेण्डर सार्वजनिक, यस्तो वार्षिक क्यालेण्डर

काठमाडौ, २४ फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी क्यानले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गरेको हो ।

क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश रहेको छ ।

क्यानले नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने तयारी गरिरहेको छ ।

सार्वजनिक तालिकाअनुसार नेपाली राष्ट्रिय पुरुष टोलीले आगामी सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग टी-२० आई सिरिज खेल्नेछ । नेपाली टोलीले उक्त सिरिज यूएईमा खेल्ने क्यानले जनाएको छ । राष्ट्र भने खुलाइएको छैन ।

यस्तै नेपाली क्रिकेट कुनै पनि महिना फुर्सदमा हुनेछैन । हरेक महिना कुनै न कुनै क्रिकेट गतिविधि हुनेछ । सिनियर पुरुष टोलीले आगामी अप्रिलमा हङकङमा चार देशीय सिरिज खेल्दै सन् २०२५ को सुरुवात गर्नेछ । अप्रिल ९ देखि १३ सम्म हुने सिरिजमा नेपालसहित हङकङ, कतार र नामिबिया सहभागी हुनेछन् ।

त्यसपछि मे १५ देखि ३० सम्म प्रि टुर टु यूके हुनेछ । नेपालले जुन महिनामा दुई अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । जुन २ देखि १२ सम्म विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको सिरिज हुनेछ । सोही महिना स्कटल्यान्ड र नेपालबीच टी-२०आई हुनेछ ।

जुलाईमा टी-२० विश्वकप छनोटको तयारीको क्याम्प सञ्चालन हुनेछ । उक्त क्याम्प श्रीलङ्कामा हुने तालिका छ । अगस्टमा भारतका विभिन्न ठाउँमा पकेट क्याम्प हुनेछ । सोही महिना नेपालले विश्वकप छनोटको तयारीका लागि अस्टेलिया टुर गर्नेछ ।

अक्टोबरमा टी-२० विश्वकप छनोट र विश्वकप लिग(२ हुनेछ । अक्टोबर १ देखि १७ सम्म ओमनमा टी-२० विश्वकप छनोट र अक्टोबर २३ देखि नोभेम्बर ४ सम्म यूएई र अमेरिकासँगको विश्वकप लिग(२ अन्तर्गतको सिरिज हुनेछ । नोभेम्बरमा हङकङ सिक्सेस खेल्नेछ ।

वर्षको अन्तिम महिना नेपालले ओमन र यूएईसँग लिग-२ र ओमनसँग टी-२० आई सिरिज खेल्ने तालिका छ ।

आजदेखि महिला टोलीले युगान्डामा चार देशीय टी-२०आई सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालसहित युगान्डा, हङकङ र नामिबिया सहभागी छन् । अप्रिलमा नेपाली टोलीले भुटान टुर गर्नेछ ।

मे महिनामा नेपालले आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट खेल्नेछ । थाइल्यान्डमा हुने सिरिजमा नेपालसहित ९ टोली सहभागी हुनेछन् । थाइल्यान्डकै आयोजनामा जुनमा महिला इमर्जिङ टीम एसिया कप हुनेछ । जुलाई र अगस्ट नेपाली महिला टोलीको कुनै पनि अन्तर्राष्ट्रिय खेल राखिएको छैन ।

सेप्टेम्बरमा नेपालले मलेसियामा आयोजना हुने त्रिदेशीय टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिजमा नेपाल र मलेसियासहित यूएई रहनेछ । अक्टोबरमा नेपालले श्रीलङ्का टुर गर्नेछ ।

डिसेम्बरमा नेपालले ५ देशीय सिरिजको आयोजना गर्नेछ । उक्त सिरिजमा नेपालसहित युगान्डा, नामिबिया, युएई र नेदरल्यान्ड्स रहनेछन् । मे महिनामै राष्ट्रिय खेलकुद हुनेछ । अक्टोबरमा महिला एलिट कप र डिसेम्बरमा पोखरा र भैरहवामा क्याम्प चल्ने तालिका छ ।

क्यानले उमेर समूहमा तालिका बनाएर प्रतियोगिता गर्दैछ । यू-१९ र यू-१६ को पुरुष र महिलातर्फ प्रतियोगिता गर्न लागेको हो । पुरुषतर्फ यू-१९ टोलीको यो महिना विश्वकपको एसिया छनोटको क्याम्प हुनेछ । अप्रिलमा नेपाली यू-१९ टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्नेछ । अप्रिल ३ देखि ९ सम्म अफगानिस्तानसँग वाईओडीआई सिरिज र अप्रिल १२ देखि २८ सम्म यू-१९ विश्वकप एसिया छनोट खेल्नेछ ।

सेप्टेम्बरमा यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता र अक्टोबरमा एसीसी पुरुष यू-१९ प्रिमियर कप खेल्ने तालिका छ । नेपाली टोलीले डिसेम्बरमा यू-१९ एसिया कप खेल्नेछ ।

पुरुष यू-१६ तर्फ यो महिना राष्ट्रिय स्कुल च्याम्पियनसिप हुनेछ । अप्रिल १ देखि १५ सम्म जिल्लास्तरीय, अप्रिल १६ देखि ३० सम्म प्रदेशस्तरीय र मे महिनामा राष्ट्रियस्तरका प्रतियोगिता हुनेछ । जुलाईमा पुरुष यू-१९ इस्ट जोन कप हुने तालिका छ ।

क्यानले सार्वजनिक गरेको तालिकाअनुसार हरेक महिना घरेलु लिग हुनेछ । यो महिना प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट हुँदैछ । मार्च ९ देखि हुने प्रतियोगिता लुम्बिनी प्रदेशका ३ ठाउँमा हुनेछ । प्रतियोगिता मार्च २९ सम्म चल्नेछ ।

अप्रिलमा राष्ट्रिय टी-२० च्याम्पियनसिप, मे महिनामा दशौं राष्ट्रिय खेलकुद र मे महिनामै नेपाल ‘ए’ टीमको सिरिज हुनेछ । जुनमा नेपाल ‘ए’ टीमको सिरिज, क्यान लेभल-१ कोचिङ, क्युरेटर कोर्स र एनपीएल रिलिज रिटेन हुनेछ ।

जुलाईमा क्यान लेभल-१ एम्पारिङ, लेभल-२ कोचिङ कोर्स हुने तालिका छ । अगस्टमा एनपीएलको मिनी अक्सन हुनेछ । सेप्टेम्बरमा नेपाल ‘ए’ टीमले भारत, बङ्गलादेशको टुर गर्नेछ ।

अक्टोबरमा प्रदेशिक प्रतियोगिता हुनेछ । नोभेम्बरमा नेपाल प्रिमियर लिगको दोस्रो संस्करण हुनेछ । डिसेम्बरमा महानगरपालिका कप गर्ने क्यानको तयारी छ ।

यसै वर्ष यू-१९ महिला टी-२० विश्वकप खेलेको नेपाली महिला यू-१९ टोली र महिलातर्फ घरेलु क्रिकेटलाई भने क्यानले खासै स्थान दिएको छैन । यू-१९ महिलातर्फ वर्षभरि ३ प्रतियोगिता राखेको छ । महिला यू-१९ टोलीको जुलाईमा मलेसिया टुर, सेप्टेम्बरमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट र अक्टोबरमा महिला यू-१९ राष्ट्रिय च्याम्पियनसिप हुनेछ ।

सेप्टेम्बरमै महिला यू-१६ स्कुल च्याम्पियनसिप पनि हुने तालिका छ । यसरी २०२५ क्रिकेटमय हुँदैछ।

 

प्रतिक्रिया दिनुहोस्