ब्राजिलियन स्टार नेयमारको बार्सिलोना फर्कने चाहना
काठमाडौं,२१ फागुन । ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियर यसै सिजन साउदी क्लब अल हिलालबाट आफ्नो पुरानो क्लब सान्तोस एफसी फर्किए । अल हिलालमा जानुअघि फ्रेन्च क्लब पिएसजीमा रहेको उनी त्यसअघि स्पेनिस क्लब बार्सिलोनामा थिए ।
अहिले फेरि नेयमार बार्सिलोनामा फर्कन सक्ने चर्चा हुन थालेको छ । उनी पनि बार्सिलोनामा फर्कन इच्छुक रहेको चर्चाका बीच बार्सिलोनाले केही शर्त पनि राखेको चर्चित स्पेनिश समाचार संस्था स्पोर्टले उल्लेख गरेको छ ।
उनी हाल खेलिरहेको ब्लब सान्तोसका लागि कम्तीमा १५ गोल गरेपछि मात्र सम्झौताको ढोका खुल्न सक्ने बार्सिलोनाले स्पष्ट पारेको स्पोर्टले जनाएको छ ।
पछिल्लो समय चोटका कारण करियरमै धक्का पुगेपछि उनको फर्ममा पनि प्रश्न उठ्दै आएको थियो । अल हिलालको लागि उनले सात खेल मात्र खेलेका थिए जसपछि उनीसँगको सम्झौता नै रद्द भएको थियो ।
बार्सिलोनाले यी ब्राजिलियन फरवार्डलाई क्लबमा भित्र्याउनुअघि उनी आफ्नो लयमा फर्किएर राम्रो खेल प्रदर्शन गरेको हेर्न चाहेको बुझिन्छ ।
नेयमार बार्सिलोनामा पुनः फर्कन चाहनुका पछाडि दुई प्रमुख कारणहरू हुन सक्छन्। पहिलो भनेको उनी उच्च स्तरको लिगमा गएर फेरि एकपटक आफूलाई प्रमाणित गर्न चाहन्छन् ।
दोस्रो भनेको सन् २०२६ को विश्वकप फुटबलअघि उनी बार्सिलोनाबाट खेल्दै आफ्ना लागि थप प्रेरणाको बाटो बुन्न चाहन्छन् । त्यसको लागि हाल खेलिरहेको क्लब सान्तोसबाट नै बेस्ट दिँदै उक्त यात्राको सुरुवात गर्नुपर्नेछ ।
अर्कोतर्फ, बार्सिलोना भने नेयमारलाई भित्र्याउन कुनै हतार गरिरहेको छैन । उनी पहिलेजस्तै डाइनामिक रूपमा उपस्थित हुनेछन् भन्ने कुरामा बार्सिलोना त्यति सजिलै कन्भिन्स हुनेछैन ।
बार्सिलोनाका हालका प्रशिक्षक हान्सी फ्लिकले पनि यसबारेमा आफूले केही नसोचेको र त्यो आफ्नो जिम्मेवारीमा नपर्ने जनाउँदै अहिलेलाई क्लबको च्याम्पियन्स लिग यात्रामा फोकस रहने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्