हस्तकलाको सम्बद्र्धन र व्यावसायीकरणमा राज्यको दायित्व आवश्यक
काठमाडौं । नेपाल सिल्प तथा हस्तकला कालीगढ संघले विहिवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘हाम्रा मौलिक सीप, सिर्जना तथा हस्तकलाको सम्बद्र्धन र व्यावसायीकरणमा राज्यको दायित्व ’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
दीपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोजदिलु विश्वकर्माले ‘मौलिक हस्तकलाको संवर्धन र व्यावसायीकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुतीमा सरोजदिलुले वहुभाषी, वहुजाति र वहुसंस्कृतियुक्त मुलुकलाई हाम्रो सीप, सिर्जना र मौलिक ग्यानले अझ सभ्य र सुसंस्कृत बनाइरहेको हुन्छ, देशको यो सुन्दरतालाई जोगाइराख्न दलित समुदायले गर्दैआएको पेशा र ग्यानले उलेख्य भूमिका खेलेको हुन्छ तर त्यही समुदायलाई समाजले हेय दृष्टिकोणले हेर्दैआएको छ, अव दलितले मगन्ते प्रोजेक्ट चलाउने होइन, आफूभित्र रहेका अद्भूत ग्यान र कलालाई प्रदर्शन गरेर आफूलाई उच्चकोटीको देखाउनु पर्छ भन्ने विषयमा धारणा राख्नुभयो ।
कार्यक्रममा ललितकला प्राग्य प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले हस्तकलाकर्मी राज्यद्वारा प्रदत्त सुविधाबारे सजग हुँदै कलाकर्ममा लाग्नुपर्ने बताउनुभयो । उहाँले नीतिगत समस्यालाई समाधान गर्दै सिर्जनशील उद्योगका रूपमा रहेको हस्तकलाको ज्ञानपरम्परालाई शिक्षासँग जोड्दै पाठ्यक्रममा समावेश गर्ने र अभिलेखीकरण तथा संर्वद्घन गर्दै पुस्तान्तरणका लागि ठोस कार्य बढाउनु आवश्यक रहेको धारणा राख्नुभयो । नेपाल हस्तकला महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले समग्र कला र कलाकारको हितका लागि काम गर्ने संस्था एक हुन आवश्यक रहेको बताउँदै साझा उद्देश्यका लागि सबैले काम गर्नुपर्ने बताउनुभयो । राज्यले सुन्ने मात्रै गरेकोले अव साना नानीहरुलाई जस्तै हाम्रा कला र सिर्जना सम्वर्दनको नीति निर्माणमा हाम्रा विधायकहरुलाई लठ्ठी लिएरै सिकाउनु पर्ने भएको बताउनु भयो ।
कार्यक्रममा ब्यापार प्रवद्धन तथा निकासी केन्द्रका विभागीय प्रमुख, ललितकला प्रतिष्ठानका पदाधिकारीहरूसँगै हस्तकला महासङ्घ, नेपाल हस्तकला कालीगढ सङ्घ तथा यस क्षेत्रसँग सरोकार राख्ने विभिन्न कलाकार, व्यक्ति तथा स्थानीय सरकार र सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्