इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधि हात पार्न म्यानमार र नेपालको बुधबार महाभिडन्त
काठमाडौं,१३ फागुन । इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुँदैछ ।
दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् । मंगलबार भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले फाइनलका लागि तयार रहेको र उपाधि जित्ने दाबी गरेका छन् ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका तीन खेल राम्रो भएको र फाइनलका लागि तयार भएको बताए । ‘तीन खेल खेल्यौं, राम्रो भयो । अब फाइनलको तयारी हुँदैछ’ उनले भने ।
यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि अहिलेसम्म सबैले राम्रो खेलेको र अब उपाधिका लागि फाइनलमा फाइट गर्ने बताइन् । ‘समग्रमा सबै खेल राम्रो भयो । सबैले राम्रो खेल्नुभयो । अहिलेसम्म सिल्भर मेडलमा छौं । भोलि गोल्डका लागि फाइट गर्नेछौं’ उनले भनिन्, ‘दुवै टिम उपाधिका लागि खेल्छन् । जसले राम्रो खेल्छ उसैले जित्ने हो । हामी हाम्रो बेस्ट दिनेछौं ।’
म्यानमारका प्रशिक्षक र कप्तानले पनि फाइनलका लागि तयार भएको बताए । ‘फाइनलका लागि तयार छौं, आशा छ भोलि राम्रो खेल हुनेछ’ म्यानमारका प्रशिक्षक तेत्सुको युकीले भने ।
‘हाम्रो खेलाडीहरू फाइनलका लागि तयार छन् । फाइनलमा राम्रो खेल्ने आशा छ’ म्यानमारका कप्तान वेन थेइङ्गी तुनले भनिन् ।
फाइनल यात्रा
चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल र म्यानमार अपराजित रहँदै फाइनल पुगेका हुन् । दुवैले तीमध्ये दुई खेल जित्दा एक बराबरी खेल्दै समान ७ अंक जोडेका थिए । गोलअन्तरमा म्यानमार पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेको हो ।
नेपालले कीर्गिस्तान र लेबनानलाई समान १(० ले पराजित गरेको थियो । म्यानमारले लेबनानलाई ३(१ र कीर्गिस्तानलाई ५(० ले हराएको थियो । नेपाल र म्यानमारबीच भएको लिगको अन्तिम खेल २(२ को बराबरीमा सकिएको थियो ।
नेपालले तीन खेलमा जम्मा ४ गोल गरेमो छ भने म्यानमारले १० गोल गरेको छ ।
हेड टु हेड
नेपाल र म्यानमारबीच अहिलेसम्म चार खेल भएको छ, जसमा नेपाल जितविहिन छ । म्यानमार दुई खेलमा विजयी हुँदा दुई खेल बराबरीमा सकिएको थियो ।
यसै प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले २२ को बराबरी खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस्