अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा किर्गिस्तानको पोस्टमा म्यानमारको ५ गोल

काठमाडौं, ८ फागुन । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत म्यानमारले लगातार दोस्रो खेलमा जित निकालेको छ।

बिहीबार दशरथ रंगशालामा भएको खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलले पराजित गरेको हो।

म्यानमारले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा एक गोल गर्न सफल भयो।

म्यानमारको जितमा यून वादी र मे हचटेटले दुई(दुई गोल गरे।

वादीले खेलको दोस्रो र ४१ मिनेटमा गोल गर्न सफल भइन्। मेले ३८ र ४९ मिनेटमा गोल गरिन्।

यस्तै सनदर लिनले ३० मिनेटमा गोल गरेकी थिइन्।

यसअघि पहिलो खेलमा म्यानमारले लेवनानमाथि ३(१ गोलको जित निकालेको थियो।

च्याम्पियनसिपमा आज साँज छ बजे नेपालले लेवनानसँग खेल्दैछ। पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले पराजित गरेको नेपालले आज लेवनानलाई हराए फाइनलमा स्थान बनाउनेछ।

आजको खेलपछि फागुन ११ मा लिग चरणको अन्तिम खेल हुनेछन्। लिग चरणको अन्तिम खेलमा किर्गिस्तान र लेवनान तथा नेपाल र म्यानमार भिड्नेछन्।

लिग चरणको शीर्ष दुई टोलीबीच फागुन १४ मा उपाधि भिडन्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्