सेयर लगानीकर्तालाई धेरै फाइदा भइरहेका ४८ कम्पनीहरु

काठमाडौं, ७ फागुन । केही महिनादेखि सेयर बजार परिसूचक नेप्से दुई विन्दुबीच रहेर तलमाथि गर्दै साइडवेज मुभमेन्टमा देखिएको छ।

पाँच महिनाअघि ३ हजारको विन्दु भेटेर फर्किएको नेप्सेले त्यसपछि पाँच पटकसम्म यो तह पार गर्ने असफल प्रयासमा देखिएको छ।

कात्तिकदेखि सेयर बजार परिसूचक नेप्से न त २४४२ मुनि जान सकेको छ न त २७९५ कटेर माथि उक्लिन सकेको छ।

यस्तोमा धेरैले यो बजारमा न त सेयर बिक्री गर्ने अवस्था बनेको न किन्ने अवस्था रहेको मानिरहेका छन्।

तर, यही घटबढमा पनि चलाख लगानीकर्ताले भने ६५.५ प्रतिशतसम्म नाफा कमाउन सफल भइरहेका देखिन्छ।

कतिपय क्षेत्रलाई नै उच्च दरमा बढाउने प्रयास गर्ने समूह पनि सक्रिय देखिएकोले पनि कुनै–कुनै क्षेत्रमा राम्रो प्रतिफल भने देखिएको हुनसक्छ।

यसअघि पनि वित्त कम्पनीहरूमा यस्तै प्रवृत्ति कायम रह्यो र उच्च मूल्यमा किनेका लगानीकर्ताले भने अहिले नोक्सान व्यहोर्न परिरहेको देखिन्छ।

उदाहरणकै रूपमा यो बजार न्यून विन्दुमा रहँदा जानकी फाइनान्सको सेयर किनेकालाई अहिले पनि उच्च नोक्सान नै देखिएको छ।

तर पनि बजार वा सेयर मूल्य न्यून विन्दुमा पुग्दा किन्ने र उच्च विन्दुमा हुँदा बेच्ने सामान्य रणनीतिले नै धेरैजसो समय साइडवेज मुभमेन्टमा काम गर्छ।

सायद यही कारण पनि लगानीकर्ताहरूलाई फाइदा भइरहेको हुनसक्छ।

हामीले यो करिब दुई महिनाको अवधिमा कुन कुन कम्पनीमा लगानीकर्तालाई धेरै लाभ भइरहेको छ भनेर विवरण तयार गरेका छौं।

गत पुस १६ गते र गत फागुन ६ गते दुवै दिन कारोबारमा आएका कम्पनीहरूको आधारमा यो सूची तयार गरेका छौं।

यसअनुसार दुई सय ९३ वटा कम्पनी तथा स्क्रिप्सहरू कारोबारमा आए।

यसमा ८० प्रतिशतभन्दा धेरै कम्पनीहरूमा लगानीकर्तालाई लाभ नै भएको छ। जसमध्ये पनि यो सूचीमा रहेका ४८ कम्पनीमा लगानीकर्तालाई २० प्रतिशतदेखि ६५.५ प्रतिशतसम्म नाफा भएको देखिन्छ। सिक्लेस हाइड्रोमा लगानीकर्तालाई सबैभन्दा धेरै नाफा भएको हो।

त्यस्तै, जानकी फाइनान्समा भने लगानीकर्तालाई यो अवधिमा सबैभन्दा धेरै २४ प्रतिशत नोक्सान भएको छ।

प्रतिक्रिया दिनुहोस्