‘एक्लो’ पोस्टरमा सुरज सिंह ठकुरीको ‘काल’ अवतार

काठमाडौं, ५ फागुन । प्रदीप शाहीको दोस्रो निर्देशकीय फिल्म ‘एक्लो’का मुख्य अभिनेता सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । फिल्ममा उनी ‘काल’ पात्रको चरित्रमा रहेको पोस्टरमा उल्लेख छ । डरलाग्दो लुक्समा देखिएका उनलाई चिन्न समेत मुस्किल पर्छ । सुरजको शरीरभरि आगो दन्किरहेको छ भने आँखाको वरिपरि कालो छ । यसले उनको चरित्र नकारात्मक रहेको संकेत गर्छ ।

यसअघि फिल्मका तीन शीर्ष कलाकार प्रदीप खड्का, विजय लामा र कविता नेपालीको क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको छ । फिल्ममा प्रदीप कल्की पात्रको चरित्रमा छन् । यसमा सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डिसी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, बेलायती अभिनेता जेमी बेकन, बाल कलाकार जेमिन श्रेष्ठ लगायतको पनि अभिनय छ ।

यो फिल्मले सन् २०३० सम्म एक घातक भाइरल महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको कथा भन्नेछ । त्यसको ६० वर्षपछि ब्रिटिस अन्तरिक्ष यात्री (बेकन) आफ्नो टोलीसहित हिमालय क्षेत्रमा ल्यान्डिङ गर्छन् । र, पहाडहरुबीचको एक गुफामा लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरुले रहस्यमय व्यक्ति (प्रदीप)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।

फिल्मको हाल लण्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्मको सम्पूर्ण कार्य सकिएपछि प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माता छन् । ‘एक्लो’को निर्मातामा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, बागवीर पुन र नवीन सिवा छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्ममा बाबु श्रेष्ठको छायाङ्कन र राजु तामाङको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्