जापानिज बक्सरलाई हराउँदै किक बक्सिङ प्रतियोगितामा ‘हिमालयन चितुवा’ विजयी

काठमाडौं, २९ माघ। जापानको टोकियोमा सम्पन्न किक बक्सिङ प्रतियोगितामा जापानिज बक्सर सिरासुलाई हराउँदै नेपाली खेलाडी अविरल घिमिरे हिमालयन चितुवा विजयी भएका छन्।

टोकियोमा सम्पन्न वर्ल्ड म्याक्स के वान च्याम्पियनसिप किक बक्सिङ प्रतियोगितामा जापानका प्रख्यात खेलाडी सिरासुलाई अविरल (हिमालयन चितुवा) ले तेस्रो राउन्डको १ मिनेट १३ सेकेन्डमा ढालेर विजय हासिल गरेका हुन्।

जापानको नागोया सहरमा परिवारसँगै बस्दै आएका अविरलले थुप्रै अन्तर्राष्ट्रिय किक बक्सिङमा विजयी हुँदै आएका छन्।

अविरलले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायत देशका बक्सरलाई पराजित गरिसकेका छन्।

जापानमा रहेर किक बक्सिङको व्यावसायिक खेल खेल्दै आएका बक्सर अविरलले बक्सिङ हिट प्रतियोगिताका १५ खेल जितिसकेका छन्।

आफ्नो कडा मेहनत अनि हरेक नेपालीको आशीर्वादले आफूलाई अहिलेसम्म सफलता हात परेको अविरल बताउँछन्।

प्रतिक्रिया दिनुहोस्