‘नरसिंहा’ मा ‘अच्छा लेकिन’ गीत, राजेश हमालले नीतिसँग कर्मर मर्काए
नेपाली फिल्मको कालजयी गीतमध्येमा पर्छ, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ । फिल्म ‘दैव संजोग’मा समावेश यो गीत अझै पनि जनमानसको मुखमा झुन्डिएको छ । अब यसको रिमेक भर्सन आउने भएको छ । फिल्म ‘नरसिंहा : अवतार’का लागि संगीतकार शम्भुजित बाँस्कोटाले उक्त गीतको रिमेक भर्सन तयार पारेका छन् । गीतलाई भिडियोमा समेत उतारिसकिएको छ ।
ओरिजिनल गीतमा शम्भुजित स्वयंको स्वर, शब्द रचना र संगीत थियो । गायनलाई उनलाई देविका बन्दनाले साथ दिएकी थिइन् । रिमेक भर्सनमा भने शम्भुजित र रचना रिमालको स्वर छ । चार दिन लगाएर छायांकन गरिएको गीतको भिडियोमा फिल्मका मुख्य ६ जना कलाकारहरू राजेश हमाल, सरोज खनाल, नीति शाह, राज कटुवाल, उषा खड्गी र सनिशा भट्टराईले नृत्य गरेका छन् ।
जरसिंह पौवामा भव्य सेट नै लगाएर खिचिएको भिडियोमा हमाल र कटुवाल आर्मीको कर्नेलको पोसाकमा देखिएका छन् । उषा, नीति र सनिशाले भने एकै किसिमको पहिरन लगाएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो तयार पार्न १५ लाख खर्च भएको निर्देशक दिवाकर भट्टराईले जानकारी दिए । अडियो र भिडियो दुवैलाई दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् ।
गामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘नरसिंहाः अवतार’बाट राजेश हमालले ८ वर्षपछि कमब्याक गरेका हुन् । यसैले यो फिल्मप्रति दर्शकमा पनि उत्साह देखिन्छ । फिल्मको निर्माता नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने र नरेन्द्र महर्जन हुन् । ‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको फिल्ममा राजेश हमाल दुई फरक लुक्समा प्रस्तुत हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्